
निरन्तर घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले उत्पादनको बिक्री बढाउन भन्दै मूल्य घटाएको छ। उद्योगले प्रतिबोरा सिमेन्टमा ४० रुपैयाँले मूल्य घटाएको हो।
उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले निजी सिमेन्ट उद्योगहरूसँग प्रतिस्पर्धाका लागि गत आइतबारबाट प्रतिबोरा ४० रुपैयाँका दरले मूल्य घटाएको जानकारी दिए।
निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्यको अनुपातमा हेटौँडा सिमेन्टको मूल्य बढी भएकाले बिक्री बढाउन मूल्य घटाइएको महाप्रबन्धक पाण्डेको भनाइ छ।
उद्योगले सात सय ४७ रूपैयाँमा प्रतिबोरा बिक्री गर्दै आएको सिमेन्टको मूल्य ४० रुपैयाँ घटाएर बिक्री थालेको हो। करिब नौ सय रूपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने गरेको भए पनि निजी उद्योगहरूसँग प्रतिस्पर्धाका लागि प्रतिबोरा सात सय ४७ रुपैयाँमा बिक्री गर्दै आएको उद्योग प्रशासनको दाबी छ।
सिमेन्टको मूल्य घटाइएको भए पनि सोचेअनुरूप सिमेन्ट बिक्री भने नभएको महाप्रबन्धक पाण्डेले बताए। ‘उद्योगमा करिब दुई लाख बोरा सिमेन्ट मौज्दात छ। सिमेन्ट उत्पादन गरेर मात्र नहुने बिक्री पनि गर्नुपर्ने भएकाले सिमेन्टको मूल्य केही घटाएका छौँ, तर पनि सोचेअनुरूप बिक्री भने बढेको छैन,’ महाप्रबन्धक पाण्डेले भने।
आर्थिक संकट झेलिरहेको उद्योगबाट उत्पादित सिमेन्टको मौज्दात राख्नुभन्दा बिक्री बढाउन सके आर्थिक गतिविधि बढ्ने महाप्रबन्धक पाण्डेले बताए। सोहीअनुरूप सिमेन्टको मूल्य केही समायोजन गरेको उनको भनाइ छ।
मोटर बिग्रँदा ‘क्लिंकर’ उत्पादन ठप्प
लामो समयदेखि आर्थिक समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्टको मोटर बिग्रँदा ‘क्लिंकर’ उत्पादन ठप्प भएको छ। उद्योगको सबैभन्दा ठूलो मोटर बिग्रिँदा दुई सातादेखि क्लिंकर उत्पादन ठप्प भएको हो।
उद्योगको सबैभन्दा ठूलो मोटर बिग्रिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए। ‘उद्योगको सबैभन्दा ठूलो मोटर बिग्रिएको छ। मोटर बनाउने काम भइरहेको छ। मोटर बिग्रिएपछि दुई सातादेखि क्लिंकर उत्पादन हुन सकेको छैन,’ उनले भने, ‘स्टकमा रहेको क्लिंकरबाट सिमेन्ट उत्पादन गरिरहेका छौँ।’
मोटर मर्मत भएपछि उद्योग पुनः पूर्ण क्षमतामा चल्ने महाप्रबन्धक पाण्डेको भनाइ छ। करिब तीन हप्ताअघि मात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको थियो।
उद्योगले करिब एक दशकपछि दैनिक ७५० मेट्रिक टनको पूर्ण क्षमतामा उत्पादन थालेको थियो। तर, पूर्ण क्षमतामा सञ्चालनमा आएको एक महिना पनि पुग्न नपाउँदै मेसिन बिग्रिँदा फेरि उत्पादनमा समस्या आएको छ।