मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अब्जरभेटरीमा स्थापना हुने डिसको नमुना
एजेन्सी लन्डन
२०७९ मङ्सिर २० मंगलबार ०७:५९:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

दुई देशमा फैलिएको विश्वकै ठूलो टेलिस्कोप निर्माण हुँदै

दुई अर्ब युरो लागतमा निर्माण हुने यो अब्जरभेटरी एक वर्गकिलोमिटरमा फैलिएको हुनेछ । यसले ५० मेगाहर्जदेखि २५ गिगाहर्जसम्मको फ्रिक्वेन्सी पहिचान गर्नेछ ।

Read Time : > 2 मिनेट
एजेन्सी, लन्डन
२०७९ मङ्सिर २० मंगलबार ०७:५९:००

 २१औँ  शताब्दीका महान् वैज्ञानिक परियोजनाहरूमध्ये एउटा परियोजनाको निर्माण चरण सोमबारबाट सुरु भएको छ । स्क्वायर किलोमिटर एरे (एसकेए) परियोजनाको निर्माण सन् २०२८ मा सम्पन्न भएपछि यो टेलिस्कोप विश्वकै ठूलो रेडियो टेलिस्कोप हुनेछ ।

 दक्षिण अफ्रिका र अस्ट्रेलियामा फैलिएको तथा बेलायतमा मुख्यालय रहेको यस सुविधा (फ्यासिलिटी)ले खगोल विज्ञानका सबैभन्दा ठूला प्रश्नहरूको सम्बोधन गर्नेछ । यसले आइन्स्टाइनका सिद्धान्तहरूको सबैभन्दा सटिक परीक्षण गर्नेछ भने पृथ्वीबाहिरका वस्तुहरूको खोजी पनि गर्नेछ । अहिले यो परियोजनाको नेतृत्व गर्ने आठ देशका प्रतिनिधिमण्डलले पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र मुर्चिसन र दक्षिण अफ्रिकाको उत्तरी क्षेत्र कारुमा भइरहेको कार्यक्रममा भाग लिइरहेका छन् । शिलान्यास उत्सव सम्पन्न भएपछि बुलडोजरहरू चल्न थाल्नेछन् ।

‘यो वास्तविक क्षण हो,’ स्क्वायर किलोमिटर एरे संगठनका महानिर्देशक प्रा. फिल डायमन्डले समाचार संस्था बिबिसीसँग भनेका छन्, ‘यो ३० वर्षे यात्रा हो । पहिलो १० वर्ष अवधारणा र विचारहरू विकास गर्नमा बित्यो । दोस्रो १० वर्ष प्रविधि विकासमा खर्च गरियो । अन्तिम दशक विस्तृत डिजाइन, निर्माण स्थल सुरक्षित गर्ने कार्य र एउटा सन्धि संगठन (एसकेएओ) स्थापना गर्न सरकारहरूलाई सहमत गराउन र काम सुरु गर्न रकम उपलब्ध गराउनमा खर्च भयो ।’
यो टेलिस्कोपको सुरुवाती वास्तुकलाले २०० भन्दा कम अणुवृत्त आकारका एन्टेना र डिसका साथै एक लाख ३१ हजार द्विध्रुवीय एन्टेना समावेश गरेको छ, जुन झन्डै–झन्डै क्रिसमस ट्रीजस्तै देखिनेछ ।

यसको लक्ष्य भनेको सयौँ हजार वर्गमिटर क्षेत्रफलमा विस्तारित एउटा प्रभावकारी सिग्नल संकलन क्षेत्र निर्माण गर्नु हो । आकाशका लक्ष्यहरूलाई जाँच गर्न यसले एसकेएलाई अतुलनीय संवेदनशीलता र रिजोलुसन (सघनता) दिनेछ ।
यो प्रणालीले ५० मेगाहर्जदेखि २५ गिगाहर्जसम्मको फ्रिक्वेन्सीको दायरामा काम गर्नेछ । वेभलेन्थको सन्दर्भमा यसले सेन्टिमिटरदेखि मिटरसम्मका तरंगहरूलाई पहिचान गर्नेछ । यसले टेलिस्कोपलाई पृथ्वीबाट अरबौँ प्रकाश–वर्ष परका ब्रह्माण्डीय स्रोतहरूबाट आउने धेरै सूक्ष्म रेडियो सिग्नलहरू पत्ता लगाउन सक्षम बनाउनेछ । यसले बिग बैग (महाविस्फोट) पछिका पहिलो केही करोड वर्षपछि निस्किएका संकेतसमेतलाई समात्न सक्नुपर्छ । 

एसकेएको महान् खोजीमध्ये एक ब्रह्माण्डमा प्रचुर मात्रामा रहेको हाइड्रोजनको पूर्ण इतिहासको पहिचान गर्नु हुनेछ । यो टेलिस्कोप पहिलो तारा बन्न घना बादलहरू फाट्नुअघिका हाइड्रोजनको उपस्थितिलाई पत्ता लगाउन सक्षम हुनेछ ।
‘एसकेएले खगोल विज्ञानका थुप्रै क्षेत्रमा योगदान दिँदै छ,’ अब्जरभेटरीका विज्ञान सञ्चालनका प्रमुख डा. सारी ब्रिनले भन्छन्, ‘एउटा यी फास्ट रेडियो बस्र्टबारे पत्ता लगाउनु हुनेछ । यी चिजले हाम्रो सूर्यबाट पूरै एक वर्षमा उत्पन्न हुने ऊर्जा एक सेकेन्डको पनि निकै सानो अंशमा उत्पादन गर्छन् । हामीलाई यी के हुन् भन्ने थाहा छैन । त्यो कसरी सम्भव हुन्छ ? आशा गरौँ, एसकेएसँग यसको जवाफ हुनेछ,’ ब्रिनलेले थपे ।

यो टेलिस्कोप पहिलेदेखि नै सानो स्तरमा रेडियो खगोल विज्ञानको लागि प्रयोग भइरहेको क्षेत्रमा निर्माण हुँदै छ । तर, यी साइटलाई विस्तार गर्न कारुका किसान र मुर्चिसनका आदिवासी वजारी यामाजीसँग विभिन्न जग्गा प्राप्ति सम्झौता गर्न आवश्यक छ । वजारी समुदायले सोमबारको एसकेए परियोजना सुरु गर्ने समारोहमा आयोजना गरेका छन् ।

यो समारोहमा विभिन्न खरिद सम्झौता घोषणा गरिनेछन् । यो कुल निर्माण लागत दुई अर्ब युरोको एक हिस्सा हुनेछ । अहिलेसम्म ५० करोडभन्दा कम मात्रै खर्च भएको छ । यो परियोजनाको पहिलो कोसेढुंगा सन् २०२४ हुनेछ, जब अस्ट्रेलियामा चारवटा डिस र दक्षिण अफ्रिकामा ६ वटा एन्टेना स्टेसनहरूले आधारभूत टेलिस्कोपको रूपमा सँगैसँगै काम गर्न थाल्नेछन् । 

सन् २०२८ सम्ममा एसकेएको प्रभावकारी तथ्यांक संकलन क्षेत्र पाँच लाख वर्गमिटरभन्दा केही कम हुनेछ । तर, यो सेटअपलाई निरन्तर विस्तार गर्ने गरी डिजाइन गरिएको छ । यसलाई १० लाख वर्गमिटर वा एक वर्ग किलोमिटरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । धेरैभन्दा धेरै देशहरू यो संगठनमा सामेल भएर आवश्यक रकम उपलब्ध गराए भने यो सम्भव हुनेछ । अहिले यो परियोजनामा दक्षिण अफ्रिका, अस्ट्रेलिया, बेलायत, चीन, इटली, नेदरल्यान्ड्स, पोर्चुगल र स्विट्जरल्यान्ड सदस्य छन् । यी देशले सन्धिलाई अनुमोदन गरेका छन् । फ्रान्स, स्पेन र हालै जर्मनीले पनि आफूहरूलाई यसमा जोड्न खोजेका छन् । 

क्यानडा, भारत, स्विडेन, दक्षिण कोरिया र जापानले पनि कुनै बिन्दुमा आबद्ध हुने आफ्नो आशय दर्साएका छन् । ‘वास्तवमा हामी अरू मुलुकसँग पनि कुराकानी गर्ने प्रक्रियामा छौँ यो टेलिस्कोपमा जोडिन, हेरौँ उनीहरूको चासो के हुन्छ,’ प्राध्यापक डायमन्डले भने ।