१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Wednesday, 02 July, 2025
२o७९ मङ्सिर १९ सोमबार o६:५१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संस्कृत विश्वविद्यालयका उपकुलपतिको आवासमा तोडफोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार o६:५१:oo

दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेको आवासगृहमा तोडफोड भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययनरत विद्यार्थीले आइतबार तोडफोड गरेका हुन् । तोडफोडबाट आवासगृहको सिसाको झ्याल–ढोका फुटेको र गाडीमा क्षति भएको छ । 

बिएएमएसका लागि ५१ जना प्राध्यापक आवश्यक पर्ने भए पनि अहिले पाँच–सातजना मात्रै रहेकाले आफ्नो पढाइ प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् । सीमित प्राध्यापक हुँदा नियमित पढाइ पनि नभएको र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर खस्केकाले सुधार गर्न माग गरेको विद्यार्थीको भनाइ छ । ‘अहिले ११ ब्याजसम्मको पढाइ भइरहेको छ, तर अहिलेसम्म पनि सीमित शिक्षक हुनुहुन्छ, लगानी धेरै हुन्छ, तर, हाम्रो पढाइ एकदम कमजोर छ,’ विद्यार्थी अभयप्रताप चौहानले भने, ‘त्यसैले आन्दोलन गर्न बाध्य भएका हौँ ।’

विद्यार्थीहरूले आइतबार विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा
पनि तालाबन्दी गरेका छन् । एउटा प्राध्यापकले २५–३० वटा पिरियड पढाउनुपर्ने अवस्था छ । 

विद्यार्थीले प्रयोगात्मकका लागि ओपिडीको पनि माग गरेका छन् । ओपिडी नहुँदा विद्यार्थीहरू कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने अवस्था छ भने कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने बाध्यतामा छन् । विद्यार्थीले तत्काल यो समस्या समाधान नगरे आन्दोलनलाई जारी राख्नेसमेत बताएका छन् । 

उपकुलपति लामिछानेले भने यो समस्या समाधान गर्न प्रयत्न गरिरहेको बताए । विद्यार्थीले पढ्न पाउनुपर्ने भन्दै गरेको आन्दोलन सकारात्मक भए पनि ढुंगामुढा गर्ने अवस्थाको भने उनले निन्दा गरे । ‘विद्यार्थीले शिक्षक पाऊँ भनी गरेको माग जायज छ,’ उनले भने, ‘तर, यसरी आक्रमण गर्ने, ढुंगामुढा गर्नु दुःखद हो ।’ 

१६ चैत ०७८ मा शिक्षकका लागि विज्ञापन खोले पनि तत्काल निर्वाचन आचरसंहिता लागेका कारण त्यो प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि रोकिएको उनले बताए । ‘आयुर्वेदका लागि हामीले १४ जना शिक्षकको माग गरेका थियौँ,’ उनले भने, ‘तर, त्यतिवेला आचारसंहिताले गर्दा काम अगाडि नबढाउन निर्देशन आएपछि हामीले काम अगाडि बढाउन सकेका छैनौँ ।’