मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १९ बिहीबार
  • Thursday, 02 February, 2023
अनिल यादव काठमाडाैं
२०७९ मङ्सिर १७ शनिबार १८:४३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ सांसदहरूलाई यस्ता छन् पूर्वसभामुख नेम्वाङका टिप्स

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ मङ्सिर १७ शनिबार १८:४३:००

प्रस्तुति तथ्यपरक र तर्कपूर्ण बनाउन धेरै विषयमा जानकारी लिनुस् : सुवास नेम्वाङ, पूर्वसभामुख

प्रतिनिधिसभामा यसपटक ५७ सांसद पहिलोपटक चुनिएका छन्। प्रत्यक्षतर्फका १६५ मध्ये दुईतिहाइभन्दा बढी भने पुरानै अनुहार आएका छन्। पहिलोपटक संसद् पुगेका सांसदहरूलाई सांसदीय अभ्यास नौलो अनुभव हो। यसर्थ, उनीहरूलाई पूर्वसभामुख सुवास नेम्वाङले केही महत्वपूर्ण टिप्स दिएका छन्। नयाँ पत्रिकाकर्मी अनिल यादवले एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङसँग कुराकानी गरी सामग्री तयार पारेका छन्।

ढ्याप–ढ्याप समय
पहिलोपटक निर्वाचित नयाँ सांसदले प्रभावकारी भूमिका निर्वाह गर्न पहिला देशको संविधान, कानुन, संसद्को नियमावली र अभ्यासबारे जानकारी लिएको हुनुपर्छ। कतिपय विषयमा संसद् संविधान र नियमबाट मात्रै नभएर अभ्यासबाट पनि चलेको हुन्छ। त्यो कतै नियममा लेखिएको हुँदैन, तर अभ्यास हुन्छ। उदाहरणका लागि संसदमा पाइने ढ्याप–ढ्याप समयलाई लिन सकिन्छ। सांसदले ‘मेरो महत्वपूर्ण कुरा छ सभामुखज्यू’ भनेर अनुमति लिएर बोल्ने समयलाई ढ्याप–ढ्याप समय भनिन्छ। यो समयबारे नियममा उल्लेख छैन। पहिले शून्य समय र विशेष समयबारे पनि उल्लेख थिएन। अहिले यीचाहिँ नियममा राख्न थालिएका छन्, तर, ढ्याप–ढ्याप समय अहिले पनि उल्लेख छैन। ढ्याप–ढ्याप समय भनेको ‘मलाई साह्रै इमर्जेन्सी पर्यो, मैले नबोली भएन’ भनेर मागिने समय हो। 

समयको व्यवस्थापन
संसदमा पूर्वप्रधानमन्त्री, संविधानसभा अध्यक्ष, पूर्वसभामुखहरूलाई बोल्नका लागि सभामुखले समय दिएर रोस्टममा गएर बोल्छन्। हाम्रोमा सबै समयमा सांसद रोस्टममा जाँदैनन्, कुनै विषयमा रोस्टम जान्छन्, जस्तो विधेयकमाथिको छलफल रोस्टममा हुन्छ। शून्य समयमा सांसदहरूले फ्लोरबाटै बोल्छन्। तर, पूर्वसभामुख, संविधानसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्री, विपक्षी दलका नेता आदिलाई भने सभामुखले रोस्टममा आएर बोल्ने समय दिन्छन्। उहाँहरूलाई समयको पावन्दी पनि हुँदैन। उहाँहरूले आफैँले आफ्नो सीमिततालाई थाहा पाउनुपर्छ। सभामुखले अनौपचारिक रूपमा भने उहाँहरूलाई ‘यति समयसम्म टुंग्याइदिनुस् न’ भनेर आग्रह गर्ने चलनचाहिँ हुन्छ। सांसदका लागि भने शून्य समय एक मिनेट, धेरैजसो समय तीन मिनेट हुन्छ। पार्टीले पाएको समयमा पनि सांसदहरूलाई आवश्यकताअनुसार समय दिइन्छ। यी समयका विषयमा नयाँ आउनेहरूले जानकारी त राख्नु नै पर्यो, सँगसँगै तोकिएको समयभित्र प्रभावकारी ढंगले आफ्नो कुरा राख्ने प्रयास र अभ्यास गर्नुपर्छ। नत्र शून्य समयभित्र तपाईंको कुरा टुंगिएन भने माइक स्वतः काटिने व्यवस्था हुन्छ। त्यसो हुँदा तपाईंको प्रभावकारी प्रस्तुति हुन सक्दैन। त्यसैले एक मिनेट भनेपछि एक मिनेटमा, तीन मिनेट भनेपछि तीन मिनेटमा आफ्नो कुरा प्रभावकारी ढंगले राख्ने हुनुपर्छ। नियमहरूले सबै कुरा निर्देशित हुन्छ संसदमा। 


सभामुखमार्फत् ध्यानाकर्षण
तपाईं कसरी बोल्ने, के बोल्नुहुन्छ, के बोल्नुहुँदैन, त्यो सबै तपाईंले जानकारी राख्नुभएन भने तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्दैन। यी सबै कुराको जानकारीका साथसाथै तपाईंले बोल्ने विषयवस्तुको जानकारी हुनु त महत्वपूर्ण त छँदै छ। त्यसैले तपाईं जुन विषयमा बोल्नुहुन्छ, त्यो पनि तथ्यपरक र तर्कपूर्ण बनाउन अहिलेदेखि नै ध्यानमा राखेर तयारी सुरु गरेको राम्रो हुन्छ। सीधै फलानो भन्दै कुनै सांसदलाई ‘म तपाईंलाई यस्तो भन्न चाहन्छु’ भनेर बोल्न पाइँदैन। जहिल्यै सभामुखमार्फत प्रस्तुत हुनुपर्छ। जहिल्यै पनि सभामुखमार्फत नै अर्काको ध्यानाकर्षण गराउनुपर्छ। सभामुखमार्फत नै आफ्ना सबै कुराहरू प्रस्तुत हुनुपर्छ। यी सबै कुरा नियम र अभ्यासहरूद्वारा निर्देशित हुन्छन्, जसबारे नयाँ निर्वाचित सांसद पोख्त भएर आउनुपर्छ। 

लेखेर पढ्ने बानी हटाउनुस्
सांसदहरू विनम्र हुनुपर्यो। विनम्रतापूर्वक आफ्ना कुराहरू प्रस्तुत गर्नुपर्यो। मेरो व्यक्तिगत विचार र विश्वभरको संसदीय अभ्यासलाई हेर्दा संसदमा प्रभावकारी प्रस्तुति दिँदा ‘एक्स्टेम्पो’ बोल्दा राम्रो हुन्छ। तपाईं ढ्याक्कै मनमा कुनै बुँदा लिनुस् या हातमा तयार गर्नुस्, त्यसमा आधारित भएर आफूलाई प्रस्तुत गर्नुस्। तर, हाम्रोमा कतिपयले सजिलो र समयका कारण होला, लेखेर फटटट पढ्ने गर्छन्। संसदमा यसरी लेखेर पढ्ने चलन ठीक होइन भन्छन्। र, म पनि त्यही पक्षमा हो। त्यसैले नयाँ सबैलाई मेरो सुझाव, तपाईं पनि तयारी गर्नुस् र ‘एक्स्टेम्पो’ बोल्नुस्।