
सुनसरी ४ मा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेका छन्।
शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मतगणनाको माग गर्दै कार्कीले आज निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो।
निर्वाचन अधिकृतले आयोगमा पठाएको ६ सय ६ मत सार्वजनिक गर्दा एक हजार दुई सय १२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो। यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो।
कांग्रेसका कार्कीले त्यो प्रस्ताव अस्वीकार गर्दै सुरुदेखि नै मतगणना गर्नुपर्ने माग गरेका बताए। मतगणना रोकिँदासम्म कार्कीले २३ हजार चार सय ३९ र एमालेका कुसियतले २३ हजार तीन सय ४१ मत पाएका छन्।