मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २२ बिहीबार
  • Thursday, 08 December, 2022
एनी–मेरी स्लटर/बेन स्कट
२०७९ मङ्सिर ६ मंगलबार ०७:३३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भ्रामक सूचना लोकतन्त्रका लागि यसकारण खतरा

Read Time : > 3 मिनेट
एनी–मेरी स्लटर/बेन स्कट
२०७९ मङ्सिर ६ मंगलबार ०७:३३:००

सूचना असुरक्षा समग्र सूचना इकोसिस्टममाथिकै सचेत र सुव्यवस्थित छेडखानी हो 

हालैको मध्यावधि निर्वाचनपछि अमेरिकीहरूले राहतको सास फेरेका छन् । किनभने मतदाता एवं निर्वाचन अधिकारीविरुद्ध सामाजिक सञ्जालले मलजल गरेका हिंसाका धम्कीहरू साकार भएनन् । त्यसैले यो घडीमा शान्तिपूर्ण मतदान आफैँमा सुखद आश्चर्य रह्यो । केही मानिसलाई निष्पक्ष निर्वाचनको वैधतालाई इन्कार गर्न षड्यन्त्रका सिद्धान्त र राजनीतिक हिंसाको समेत सहारा लिन के कुराले उत्प्रेरित गरिरहेको छ ? यसको उत्तर विश्वभरका लोकतन्त्रमाथि मडारिरहेको एउटा नयाँ खतरामा भेटिनेछ र त्यो हो सूचना असुरक्षा (इन्फर्मेसन्स इन्सेक्युरिटी) ।

सूचनाको असुरक्षा प्रोपोगान्डाभन्दा निकै बढी संवेदनशील र गम्भीर छ । सूचना असुरक्षा समग्र सूचना इकोसिस्टममाथिकै सचेत र प्रणालीगत (सुव्यवस्थित) छेडखानी हो । यसलाई डिजिटल प्रविधिको शक्तिले सशक्त बनाएको छ । सूचना असुरक्षालाई प्राकृतिक प्रकोप र जलवायु असुरक्षाजत्तिकै भयानक मान्न सकिन्छ । विगतमा हामीले आँधीबेहरी, खडेरी र बाढीहरूलाई आपत्कालीन अवस्थाको रूपमा सामना गर्याैं । आज, हामी जलवायु परिवर्तनलाई कृषि, ऊर्जा र सार्वजनिक सुरक्षाको सम्पूर्ण प्रणालीमाथिकै खतराको रूपमा बुझ्दै छौँ । यसैगरी, एक समय हामी अनिकाललाई यदाकदा सामना गर्थ्यो । तर, आज खाद्य असुरक्षालाई जीवनमाथि मात्रै होइन, सामाजिक एकता र राजनीतिक स्थायित्वकै निम्ति स्थायी खतराका रूपमा बुझ्छौँ हामी ।

प्रणालीगत चुनौतीसँग प्रणालीगत तरिकाले नै जुझ्नुपर्छ । त्यसैले मात्र अहिलेका सुदृढ प्रविधिगत समस्यालाई सम्बोधन गर्न सक्छ । विरोधीहरूद्वारा प्रसारित प्रोपोगान्डा च्यानलहरूलाई बन्द गर्ने वा एक्ल्याउन बीसाैँ शताब्दीको रणनीति पर्याप्त हुँदैन । सीमित र ज्ञात स्रोतहरूबाट प्रसारित हुने ती मिथ्या सूचना प्रसारणलाई मूल सञ्चारले सजिलै पहिचान गर्न सक्थे । तर, आजका सूचना प्रसारण सयौँ च्यानलमा मल्टिकास्ट हुन्छन् ।

यिनले श्रोता तथा दर्शकको आकारलाई अधिकतम बनाउन अनलाइन विज्ञापनका प्रविधि, लक्षितीकरण र अल्गोरिदम म्यानुपुलेसनको फाइदा उठाउँदै सामाजिक मिडियाका साथै प्रसारण र डिजिटल मिडियाको अन्तक्र्रियालाई प्रयोग गर्छन् । उदाहरणका लागि क्रेमलिनले राज्य नियन्त्रित प्रसारण र डिजिटल दुवै मिडियाका च्यानलहरूलाई युक्रेनबारे आफूअनुकूल सूचना र मिथ्या सूचनाहरूको प्रसार गर्न उपयोग गर्छ । त्यस्ता सामग्रीलाई थुप्रा भाषा र प्लाटफर्महरूबाट फैलाउन गुप्त डिजिटल च्यानलहरूको विशाल नेटवर्कको उपयोग गर्छ । यिनै च्यानलहरूले किभमा नाजीहरू भएको षड्यन्त्र सिद्धान्तहरू फैलाए । रुसले गरेको खाद्य आपूर्ति शृंखलामाथिको अवरोधका निमित्त पश्चिमलाई दोष दिए । ऊर्जाको मूल्य र शरणार्थी समस्या चर्काउने गरी दुष्प्रचार गरेर युरोपेली संघमा अशान्ति फैलाए ।

क्रेमलिनले राज्य नियन्त्रित प्रसारण र डिजिटल दुवै मिडियाका च्यानललाई युक्रेनबारे आफूअनुकूल सूचना र मिथ्या सूचनाको प्रसार गर्न उपयोग गरेको छ

यी रणनीतिले घरेलु–षड्यन्त्र सिद्धान्तलाई नै बढावा दिन्छ अनि घरेलु र विदेशी एजेन्टहरूबीचको भिन्नतालाई धुमिल पार्छ । यसबाहेक, यसको उद्देश्य षड्यन्त्र सिद्धान्तहरू पछ्याउनु मात्रै होइन, तथ्यहरूमाथिको विश्वासलाई कमजोर पार्नु, चारैतिर मिथ्या समाचार फैलाउनु पनि हो । अल्गोरिदमले यसको प्रभावलाई अधिकतम बनाउन धेरैभन्दा धेरैको ध्यान खिच्न सघाउँछ । चीनजस्ता निरंकुश सरकारहरूले घरेलु मिडियाको उत्पादन र वितरण दुवैमाथि नियन्त्रण कायम राखेर यो खतराको प्रतिकार गर्छन् । यसले अनलाइनमा प्रकट हुने सबै असहमत विचारहरूलाई हटाउन नसके पनि पार्टीको लाइनविरुद्धका ठूला व्यावधानलाई भने रोक्छ । रुसले पनि यस्तै तरिका अपनाएको छ, तर प्रभावकारितासहित ।

तर लोकतन्त्रहरूले अर्कै बाटो पत्ता लगाउनुपर्छ । लोकतान्त्रिक समाजमा आधारभूत मानवअधिकार र सरकारलाई जवाफदेही बनाउने प्रमुख संयन्त्रका रूपमा अभिव्यक्ति स्वतन्त्रता अत्यावश्यक हुन्छ । सूचना खतरामाथिको उपचार रोगभन्दा खराब हुनुहुँदैन । हामी यो समस्याको निकासलाई मेट्न सक्दैनाैँ । अभिव्यक्ति स्वतन्त्रतालाई सीमित नगरी सूचना असुरक्षाको समाधान गर्न, हामीले बजारको संरचना र निष्ठाभन्दा विवादलाई प्राथमिकता दिने मौजुदा व्यापार मोडललाई सम्बोधन गर्नुपर्ने हुन्छ । यसको अर्थ विश्वव्पापी सूचना वितरणमा अभूतपूर्व नियन्त्रण राख्ने ठूला प्रविधि प्लाटफर्महरू (मुख्यतः अमेरिकी र चिनियाँ)लाई प्रत्यक्ष रूपमा यो समस्याको सम्बोधनमा संलग्न गर्नुपर्छ ।

समकालीन राजनीतिक द्वन्द्वलाई उत्प्रेरित गर्ने सामाजिक समस्याहरूको कारक यी फर्म होइनन् । यद्यपि अतिवादतर्फको रुझानलाई गति दिनमा भने यी नै सबैभन्दा ठूला कारक हुन् । आफ्ना सेवा दुरुपयोग र तीबाट सिर्जित अवैध गतिविधि रोक्न यी कम्पनीले प्रयास नै नगर्ने त होइनन्, तर यिनका उत्पादनहरूको डिजाइन यस्तै विकृतिबाट लाभ उठाउन गरिएकाले यिनको व्यापक दुरुपयोगको जोखिम छ । यसबीच, विज्ञापनको बजार शक्तिले परम्परागत पत्रकारिताको व्यावसायिक शक्तिलाई सिध्याइदिएको छ । कुनै समय पत्रकारिताले आधारभूत तथ्यबारे आमसहमति स्थापित गरेर लोकतान्त्रिक राजनीतिलाई स्थायित्व दिएको थियो । तर, अधिकांश परम्परागत समाचारका माध्यमले विज्ञापनको बजार शक्ति हत्याउने दौडमा सामेल भएका छन् । लोकतान्त्रिक सरकारहरूले ग्यास, पानी, जलविद्युत् र दूरसञ्चारजस्तै सूचना प्रणालीलाई पनि महत्वपूर्ण पूर्वाधारका रूपमा व्यवहार गर्नुपर्छ । यसतर्फको पहिलो कदम भनेको सामाजिक सञ्जालका अमेरिकी प्लाटफर्म फेसबुक, युट्युब र ट्विटरलाई अधिनायकवादी सरकारबाट सुव्यवस्थित र सचेत रूपमा भ्रामक सूचनाहरूको प्रसारका निमित्त दुरुपयोग हुन दिनुहुँदैन । 

लोकतन्त्रको प्रतिरक्षालाई अझ मजबुत बनाउन सूचना बजारको सम्भावित सुरक्षा जोखिम आकलन गर्न केही मापदण्डहरू आवश्यक छन् । जस्तै युवामाझ सबैभन्दा लोकप्रिय प्लाटफर्म टिकटकमा चिनियाँ नियन्त्रणको प्रभाव आकलन गर्ने केही मानक चाहिन्छन् । तर, यी मापदण्ड सञ्चारका माध्यममा कुन सामग्रीलाई अनुमति दिने कुनलाई नदिने भनेर सरकारहरूले निर्देशन दिने खालको भने हुनुहुँदैन । त्यो निर्णय गर्ने काम तिनै प्लाटफर्म वा मिडियाहरूको हुनुपर्छ । हुन त अहिले बजारमा रहेका हरेक प्रविधि प्लाटफर्महरूसँग आफ्ना गतिविधि र सामग्रीका साथसाथै व्यक्तिगत जानकारीको संग्रह र प्रयोगबारे नियम छन् । तर, अक्सर उनीहरू आफैँले बनाएका नियमसमेत लागू गर्दैनन् । 

जसरी हामी खानेकुरा, औषधि र प्राकृतिक स्रोतसम्बन्धी उद्योगहरूको सुरक्षा नियमन गर्छाैं, उसरी नै सरकारी नियामकहरूले यी प्लाटफर्महरूलाई आफ्नो प्रतिवद्धताप्रति जिम्मेवार बनाउन र उपभोक्ता सुरक्षाका लागि अतिरिक्त नीयमहरू तय गर्न सक्नुपर्छ ।

यसबाहेक, नागरिकहरूलाई तथ्यको आधारसँग पुनः जोड्न लोकतन्त्रहरूले आमसञ्चारलाई सुदृढ बनाउनैपर्छ । यसको एउटा विधि भनेको हालैमा अस्ट्रेलियाले लागू गरेकोजस्तो प्रतिस्पर्धाको नीति प्रयोग गर्ने हो । यो नीतिले डिजिटल विज्ञापनमाथि पकड जमाएका प्रविधि कम्पनीहरूलाई विज्ञापनको आम्दानीलाई समाचार संस्थाहरूसँग साझेदारी गर्ने गरी सम्झौता गर्न लगाउँछ । डिजिटल कारोबारको करलाई पनि सार्वजनिक मिडिया, स्थानीय मिडिया, मिडिया साक्षरता र सञ्चार स्कुलहरूमा लगानी बढाउन प्रयोग गर्न सकिन्छ । मिडिया बजारमा नियम, मापदण्ड र लगानी आर्थिक नीति मात्र होइनन् । ती सुरक्षाका साथसाथै हरित ऊर्जा र जनस्वास्थ्यका अनिवार्यता पनि हुन् । यदि हामीले चाँडै कदम चाल्दैनौँ भने हाम्रो सूचना सुरक्षा अझ कमजोर हुनेछ । त्यसले हामीलाई अझै विभाजित गर्नेछ । त्यसपछि निरंकुश र घरेलु दुष्प्रचारकहरूले लोकतन्त्रलाई निकम्मा बनाउने भाष्यलाई आकार दिनेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अक्टोेबरमा सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिले अन्तर्राष्ट्रिय एवं राष्ट्रिय सुरक्षाका लागि खतरापूर्ण अन्तरदेशीय चुनौतीहरूको प्हिचान गरेको छ । भूराजनीतिका लागि समेत यी चुनौती हुन् । जलवायु परिवर्तन, खाद्य सुरक्षा, संक्रामक रोगहरू, ऊर्जा संकट र मुद्रास्फीति उसको राष्ट्रिय सुरक्षा रणनीतिको खतराको सूचीमा समाविष्ट छन् । सूचना असुरक्षा पनि त्यो सूचीमा परेको छ । किनभने मिथ्या र भ्रामक सूचनाहरूले यी अन्य चुनौतीलाई चर्काउने र लोकतन्त्रका लागि नै गम्भीर खतरा उत्पन्न गर्छ ।

(प्रिन्सटन विश्वविद्यालयमा राजनीति तथा विदेश सम्बन्धकी अवकाश प्राप्त प्राध्यापक स्लटर अमेरिकाको गृह मन्त्रालयकी पूर्वनीति–योजना निर्देशक हुन् भने स्कट पैरवी संगठन द ओमिडायर ग्रुपका निर्देशक हुन्)  (Project Syndicate नयाँ पत्रिकाको सहकार्य)