Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ज्येष्ठ नागरिक र अपांगता भएका मतदाताको उत्साहजनक सहभागिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ५ सोमबार ०६:२६:००

मताधिकारको प्रयोग

गुल्मीको छत्रकोट गाउँपालिका– ३ स्थित नरमका शारीरिक अपांगता भएका दाजुबहिनी भोपाल थामी र देवीमाया थामीमगर घस्रिएर भगवती आधारभूत विद्यालय केन्द्रमा मतदान गर्न जाँदै । निर्वाचन आयोगले अशक्त तथा अपांगता भएकाहरूलाई मतदान केन्द्रसम्म आउजाउका लागि सवारी साधनको व्यवस्था गर्न भनेपनि उनीहरूले उक्त सुविधा पाएनन् । ह्वीलचेयरसमेत नभएका उनीहरूले कष्टपूर्ण यात्रा गरेरै भएपनि मतदानमा उत्साहपूर्ण सहभागीता जनाए । तस्बिर : टोपलाल अर्याल/नयाँ पत्रिका

११५ वर्षीय वृद्धद्वारा मतदान 
इलामको फाकफोकथुम गाउँपालिका– ७ सिकारी भञ्ज्याङका ११५ वर्षीय मनबहादुर राईले मतदान गरेका छन् । फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । उनको नागरिकतामा जन्ममिति विसं १९६४ लेखिएको छ । त्यस्तै, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १८ धरमपुरकी १०३ वर्षीया फुलमती तामाङले मतदान गरेकी छिन् । उनले पश्चिम नवलपरासीको ज्ञानज्योति आधारभूत विद्यालयको मतदान केन्द्र ‘ख’बाट मतदान गरेकी हुन् । 

मतदान गरेर फर्कँदै गरेका ७१ वर्षीय सुनुवारको मृत्यु
मतदान गरेर मतदानस्थलबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भएर ढलेका लिखु तामाकोसी गाउँपालिका– ४ बिजुलीकोटका ७१ वर्षीय ठगबहादुर सुनुवारको मृत्यु भएको छ । उनले वडा नम्बर ४ मा रहेको भृंगेश्वर मावि कोटगाउँ केन्द्रमा मतदान गरेका थिए । मतदानपछि बाहिर निस्कँदै गर्दा उनी अचानक बेहोस भएर पछारिएका थिए । उनलाई सुरक्षाकर्मी र आफन्तले उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकीतर्फ लैजाँदै गर्दा बीचबाटोमै ज्यान गएको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । 

दृष्टिविहीनलाई लिएर मतदान गर्न हिँडेका वृद्धको मृत्यु 
दृष्टिविहीनलाई लिएर मतदानमा सहभागी हुन हिँडेका मुगुको खत्याड– ३ का ७५ वर्षीय जोख्या दमाईंको बाटोमै लडेर मृत्यु भएको छ । उनी खत्याड गाउँपालिकाको कालिका मावि बुगा केन्द्रमा आइतबार हुने मतदानमा सहभागी हुन शनिबार सदरमुकाम गमगढीबाट हिँडेका थिए । उनको साथमा दृष्टिविहीन कल्से नेपाली पनि थिए । दृष्टिविहीनलाई पनि मतदान गराउन लिएर जानुपर्ने भएकाले उनी अघिल्लो दिन नै घरबाट हिँडेका थिए । तर, मत खसाल्न नपाई खत्याड गाउँपालिकाको सेरीमा लडेर उनको ज्यान गएको मुगु कांग्रेसका निवर्तमान सभापति खडकबहादुर शाहीले बताए । जोख्या १० वर्षदेखि दृष्टिविहीन कल्से नेपालीको सारथि बन्दै आएका थिए । मतदानमा कल्सेलाई पनि सहभागी गराउन उनले लिएर गएका थिए ।

चार किरियापुत्रीले गरे मतदान
रामेछापको मन्थली नगरपालिका– ९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुई किरियापुत्रीले मतदान गरेका छन् । बाबु नरराज पुरीको निधनपछि क्षेत्रवासमा बसेका नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान केन्द्र पुगेर मतदान गरेका हुन् । दुवै दाजुभाइका श्रीमतीले पनि प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई मतदान गरे । आफ्नो सिंगो परिवार शोकमा डुबेको समयमा पनि उम्मेदवारहरू निर्वाचित भई देश विकासमा टेवा पु¥याऊन् भन्ने उद्देश्यले आफूले मतदान गरेको प्रकाश पुरीले जानकारी दिए । मतदानस्थलमा खटिएका कर्मचारीले किरियापुत्रीलाई सहज ढंगले मतदान गर्ने वातावरण मिलाइदिएका थिए । यस्तै, कञ्चनपुरमा किरियापुत्री दाजुभाइले मतदान गरेका छन् । कञ्चनपुर २ मा रहेको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा किरियापुत्री ऐर दाजुभाइले मतदान गरेका हुन् । कांग्रेस शुक्लाफाँटा नगरपालिका– ११ का सचिवसमेत रहेका अतुलबहादुर ऐर दाजुभाइले दिउँसो मतदान गरेको कांग्रेसका स्थानीय नेता पवन नेपालीले बताए । किरियापुत्री ऐर दाजुभाइले कलुवापुर सरस्वती माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

हतकडीमै मतदान
जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीहरूले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन् । २० कैदीबन्दीमध्ये १५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी र त्यहाँका कर्मचारीले मतदान गरेका हुन् । कैदीबन्दीहरूले हतकडी लगाएरै मतदान गरेका थिए ।