काठमाडौं । दसैँको बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने यात्रुको संख्या बढ्न थालेको छ। यात्रु र सवारीसाधनको चाप बढेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको लाम देखिन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा–कलंकी, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिएका यात्रु बिदा सकिएसँगै फर्किन थालेपछि नाकाहरूमा चहलपहल बढेको हो।
प्राप्त विवरणअनुसार घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए। अहिले उनीहरू क्रमशः उपत्यका फर्किन थालेपछि सडकमा सवारीसाधनको चाप बढेको छ।
यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीले उपत्यका भित्रिने प्रमुख नाकाहरूमा निगरानी बढाएको छ। सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।
सामान्य अवस्थामा उपत्यकाका प्रमुख नाकाहरूबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठुला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्। चाडपर्वपछि यात्रुको चाप बढेसँगै नाकाहरूमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ।