काठमाडौं/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाढी, पहिरो तथा अन्य विपतबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई संरक्षण, पुनर्स्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासँग जोड्ने गरी ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ।
विपत् प्रभावित नागरिकलाई तत्काल राहत र सहायतामा मात्र सीमित नराखी जीविकोपार्जन पुनर्स्थापना, सिप विकास, रोजगारी, उद्यमशीलता, उत्पादन तथा बजारसँग आबद्ध गराउँदै आर्थिक रूपमा पुनः उभ्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिनेछ। प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
आठ प्रमुख स्तम्भ
‘समुन्नति कार्यक्रम’लाई विपत् प्रभावित लक्षित समुदायलाई तत्काल राहतबाट आर्थिक पुनर्लाभ र आत्मनिर्भरतातर्फ लैजाने गरी आठ प्रमुख स्तम्भमा अघि बढाइनेछ।
१. जीविकोपार्जनका लागि नगद, बिउपुँजी तथा व्यवसाय पुनर्स्थापना सहायता
विपतका कारण प्रभावित आयआर्जनका गतिविधि तथा व्यवसाय पुनः सञ्चालन गर्न आवश्यक नगद, बिउपुँजी र पुनर्स्थापना सहायता उपलब्ध गराइनेछ।
२. औजार, उपकरण, मेसिन तथा उत्पादन साधन सहायता
जीविकोपार्जन, व्यवसाय तथा उत्पादन पुनः सञ्चालनका लागि आवश्यक औजार, उपकरण, मेसिन तथा अन्य उत्पादन साधन उपलब्ध गराइनेछ।
३. सीप तथा रोजगारमूलक तालिम
व्यक्तिको क्षमता, रुचि तथा स्थानीय बजारको मागका आधारमा सिप विकाससम्बन्धी तालिम प्रदान गरी रोजगार तथा स्वरोजगारका अवसरसँग जोडिनेछ।
४. रोजगार सहजीकरण तथा रोजगारीमा आबद्धता
सिप भएका तथा तालिम प्राप्त व्यक्तिलाई उपलब्ध रोजगारीका अवसरसँग जोड्न आवश्यक सहजीकरण गरिनेछ।
५. व्यवसाय तथा उद्यमशीलता विकास
नयाँ उद्यम सुरु गर्न तथा विपतका कारण प्रभावित व्यवसाय पुनः सञ्चालन वा विस्तार गर्न आवश्यक उद्यमशीलता तथा व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ।
६. उत्पादन तथा बजार आबद्धता
स्थानीय उत्पादन तथा उद्यमलाई बजार, खरिदकर्ता र मूल्य शृंखलासँग जोडेर दिगो आयआर्जनको आधार निर्माण गरिनेछ।
७. व्यक्तिगत, जीविकोपार्जन तथा व्यावसायिक परामर्श
व्यक्तिको अवस्था, क्षमता र सम्भावनाका आधारमा जीविकोपार्जन, रोजगारी तथा व्यवसाय सञ्चालनका लागि आवश्यक परामर्श र सहजीकरण प्रदान गरिनेछ।
८. संरक्षण, लैंगिक हिंसा रोकथाम, जोखिम न्यूनीकरण तथा सेवामा आबद्धता
विपतपछि उत्पन्न हुन सक्ने संरक्षणसम्बन्धी जोखिम तथा लैँगिक हिंसा न्यूनीकरण गर्दै प्रभावित व्यक्तिलाई आवश्यक स्वास्थ्य, मनोसामाजिक, कानुनी, सुरक्षा तथा अन्य सेवासँग जोडिनेछ।
बालबालिका भएका परिवारलाई विशेष प्राथमिकता
बालबालिकाको दीर्घकालीन संरक्षण र स्याहारका लागि मन्त्रालयले ‘बालबालिका दीर्घकालीन स्याहार योजना’ कार्यान्वयन गरिरहेको छ।
‘समुन्नति कार्यक्रम’अन्तर्गत विपत् प्रभावित परिवारमा रहेका बालबालिकाको संख्या, पारिवारिक अवस्था, आश्रित सदस्य तथा आर्थिक–सामाजिक जोखिमलाई ध्यानमा राखी जीविकोपार्जन तथा पुनर्स्थापना सहायतामा आवश्यकताअनुसार विशेष प्राथमिकता र थप सहयोग उपलब्ध गराउन सकिने मन्त्रालयले जनाएको छ।
राहतमा मात्र सीमित नहुने
मन्त्रालयका अनुसार ‘समुन्नति कार्यक्रम’ राहत वितरणमा मात्र सीमित हुने छैन। विपद्बाट प्रभावित व्यक्तिको तत्काल आवश्यकता सम्बोधनसँगै उनीहरूको आयआर्जन र जीविकोपार्जन पुनर्स्थापना गरी आर्थिक रूपमा पुनः उभिने आधार तयार गरिनेछ।
आवश्यकताअनुसार नगद, बीउपूँजी, सीप, औजार तथा उपकरण, रोजगारी, उद्यमशीलता, व्यवसाय पुनर्स्थापना र बजार आबद्धतामार्फत प्रभावित नागरिकलाई पुनः आयआर्जन तथा आत्मनिर्भरताको बाटोमा जोडिने मन्त्रालयले जनाएको छ।
कार्यक्रमको नीतिगत नेतृत्व मन्त्रालयले गर्नेछ भने संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गरी विपद् प्रभावित समुदायको आवश्यकता र स्थानीय सम्भावनाका आधारमा कार्यक्रम कार्यान्वयन गरिनेछ।
विपद् प्रभावित नागरिकलाई राहत दिएर मात्र छोड्नुको सट्टा उनीहरूलाई पुनः उभिने अवसर, आयआर्जनको आधार र आत्मनिर्भरताको बाटो प्रदान गर्नु ‘समुन्नति कार्यक्रम’को मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।