सर्लाहीमा इभी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान (इभी) र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एक–आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा इभी चालकसहित १२ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल लगिएको थियो। घाइतेमध्ये बारा जिल्लाको सुवर्ण गाउँपालिका– ४, निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ।

घाइतेमध्ये इभी चालक बारा जिल्लाको महागढीमाई नगरपालिका–६ निवासी ४१ वर्षीय कामेश्वर सहनी, महागढीमाई नगरपालिका– ९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका– ४ का ४५ वर्षीय भवन राम, ४० वर्षीय राजदेव राम, ४० वर्षीय विनोद राम र ४७ वर्षीय रुदल राम रहेका छन्।

त्यस्तै, सुवर्ण गाउँपालिका– ७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका– २६ का ३७ वर्षीय नन्दन राम र ३७ वर्षीय उमेश राम, पचरौता नगरपालिका– ७ का ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढ गाउँपालिका– ४ का ४० वर्षीय नवलकिशोर राम पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये कामेश्वर सहनी, भवन राम र उमेश रामको अवस्था मध्यम छ भने अन्य आठजनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि ट्रकचालक मोरङको बुढीगंगा गाउँपालिका– ४, क्याम्पसचोकनिवासी अन्दाजी ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगन्ज पठाइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फुलजोरमा ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध नभएको बताइएको छ।
 

सुझावित समाचार