
आमनिर्वाचन सकिएको साढे तीन वर्षपछि पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग र अन्तर्घात गरेको अभियोगमा कांग्रेसले डेढ दर्जन नेता कार्यकर्तामाथि कारबाही गरेको छ । जसमा प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसम्म छन् ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले ०७९ को स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहित डेढ दर्जनमाथि अनुशासनको कारबाही गरेको हो ।
अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो–भिडियोलगायत अनेकन् हतकन्डा प्रयोग गरिएका प्रमाणलाई आधार मानेर पार्टी नेता तथा कार्यकर्तालाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । कारबाहीमा परेकामा लुम्बिनी प्रदेशका महामन्त्री खनाल, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, खोटाङका सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ । कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको छ । यी सबै कांग्रेसमा संस्थापनइतर समूहका हुन् ।
त्यस्तै, धनुषा लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन गरिएको छ । धनुषा सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका– १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका– २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरिएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका– १ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका– २ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका– १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका– ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई ६ महिना निलम्बन गरिएको छ ।
अनुशासन आयोगले छानीछानी इतर समूहका नेता कार्यकर्तालाई कारबाही गरेको भन्दै कांग्रेसमा असन्तुष्टि उत्पन्न भएको छ । हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेता डा. शेखर कोइरालाले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्ने बताएका थिए । ‘अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीका लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ । तपाईँका विरूद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नुहुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ, कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद ?’ उनले प्रश्न गरेका थिए ।
तर केन्द्रीय समिति बैठक सकिएलगत्तै अनुशासन आयोगको बैठकले इतर समूहका नेता कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ । बहुमतको आधारमा संयोजक ढुंगानाले कारबाही गर्ने निर्णय गरेका हुन् । आयोग सदस्य राजीव कोइराला र सञ्जय गौतमले भने कडा प्रतिवाद गरेको स्रोतले बतायो ।