
झापामा भ्युटावर बनाउन दानमा दिएको जग्गा दाताले फिर्ता मागेको प्रकरणमा आलोचना भएपछि दमक नगरपालिका– ३ का वडाध्यक्ष नवीन बरालले ढाकछोपको प्रयास गरेका छन् । भ्युटावरले ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ले दान दिएको चार बिघा १८ कट्ठा साढे सात धुरमध्ये दुई बिघा जग्गा फिर्ता मागेको थियो । जसमध्ये दमक नगरपालिकाले स्थानीय उपभोक्ताबाट उठाएर १५ कट्ठा जग्गा फिर्ता दिइसकेको छ । बाँकी एक बिघा पाँच कट्ठा जग्गा फिर्ता गर्ने भनेर ३१ जेठ ०७५ मा वडाध्यक्ष बरालसहित तत्कालीन नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले तमसुक गरिदिएका थिए ।
नयाँ पत्रिका दैनिकले २० असारमा ‘दमक भ्युटावरलाई दान दिएको जग्गा नौ वर्षपछि फिर्ता माग्दै हाउजिङ कम्पनी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारको खण्डन गर्न वडाध्यक्ष बरालले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी ढाकछोपको प्रयास गरेका छन् । उनले कागजमा भएको त्रुटिलाई स्वीकार गर्नुको सट्टा ढाकछोपको प्रयास गरेका हुन् । बरालले माँ पञ्चकन्या हाउजिङका सञ्चालकलाई समेत सहभागी गराएर पत्रकार सम्मेलन गरेका थिए । कार्यक्रममा कागजमा हस्ताक्षर गर्ने पूर्वनगर प्रमुख रोमनाथ ओली पनि सहभागी थिए ।
वडाध्यक्ष बरालले १५ कट्ठा जग्गा स्थानीयबाट उठाएर दिइसकेको र बाँकी रहेको एक बिघा पाँच कट्ठा जग्गा उपभोक्ताबाटै दिने बताए । उनले जग्गा नउठे पनि उपभोक्ताबाटै चलनचल्तीको मूल्य उठाएर दिने गरी कागज गरेको दाबी गरे । उनले तमसुकमा शब्द नपुगेको दाबीसमेत गरे । ‘त्यो कागजमा शब्द पुगेन होला, त्यो आफ्नो ठाउँमा छ । अरू कागज हेर्ने हो भने हामीले जिम्मेवारपूर्वक तपाईंहरू (माँ पञ्चकन्या हाउजिङ)लाई सहयोग गर्छौँ भनेका छौँ,’ उनले भने, ‘हामीले त सहयोग गर्ने हो नि ! पालिकाले त जग्गा दिनै सक्दैन । हामीले जग्गा वा चलनचल्तीको मूल्य दिन्छौँ भनेर कागज नै गरेको छैन ।’
यद्यपि, तत्कालीन नगर प्रमुख ओली, उपप्रमुख अधिकारी, वडाध्यक्ष बरालले हस्ताक्षर गरेको र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना रोहवरमा बसेको कागजमा उक्त दुई बिघा जग्गा सापटी लिएको र स्थानीयले जग्गा नदिएमा नगरपालिकाले चलनचल्तीको मूल्य दिने प्रस्ट लेखिएको छ । कागजमा भनिएको छ, ‘...स्थानीय उपभोक्ताबाट आजको मितिले ६ महिनाभित्र श्री माँ पञ्चकन्या हाउजिङ प्रालिलाई उपलब्ध गराउनेछौँ । साथै, समय अवधिभित्र पुर्याउन नसके हामी दमक नपाका मेयर, उपमेयर, वडाध्यक्ष साथै कर्मचारी अधिकृत जिम्मेवार रहनेछौँ र उक्त जग्गाको चलन मूल्यमा मूल्यांकन गरी सम्बन्धित श्री माँ पञ्चकन्या हाउजिङ प्रालिलाई बुझाउनेछौँ ।’
वडाध्यक्ष बरालले दुई बिघा जमिन स्थानीय उपभोक्ताले दिने दाबी गरे । ‘भ्युटावरका लागि पाँच बिघा जमिन चाहिने माग भएको नत्र भ्युटावर निर्माण हुन नसक्ने अवस्था भएकाले तत्काल भ्युटावरको जग्गा व्यवस्थापन समितिले वडा समितिको रोहवरमा हालको ठुल्ठुला जग्गा कम्पनीको मालिकले दुई बिघा जमिन थप गरिदिने र पछि अन्य दाताहरूले आफूले कबोल गरेबमोजिम अनुपातिक रूपमा दुई बिघा जमिन कम्पनीलाई पास गरिदिने सहमतिको कागज सहीछाप भएको थियो,’ उनले भने, ‘स्थानीयहरू जग्गा दिन तयार हुनुहुन्छ । तर, ल्यान्डपुलिङ नहुँदा र कोरोना महामारीका कारणले त्यो काम रोकिएको छ ।’ उनले स्थानीयले गरिदिएको कागजात ०७४ मै नगरपालिकालाई बुझाएको भए पनि हराएको बताए । अहिले आफूसँग भएको कागजात नगरपालिकालाई दिएको उनको भनाइ छ । पछिल्लो समय नयाँ नगर प्रमुख र उपप्रमुख निर्वाचित भएर आएका कारण पनि बुझाइमा कमी हुँदा जग्गा फिर्ता दिने पहल अघि बढ्न नसकेको बताए । उनले अब चाँडै पहल गरिने दाबी गरे ।
यद्यपि, दमकको भ्युटावर जग्गा व्यापारीले जग्गा दान दिएपछि दमक भ्युटावरको योजना ल्याइएको पुष्टि भएको छ । उनीहरूले ०७३ मा पाँच बिघा जग्गा दान दिएका थिए । पाँच बिघामध्ये दुई बिघा सापटी भने पनि जग्गा पास गर्दा राजीनामा लिखतमा दान नै उल्लेख छ ।
केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं सञ्चालक रहेको माँ पञ्चकन्या हाउजिङले सुरुमा अर्कै प्रयोजनका लागि स्थानीयबाट सस्तोमा १२ बिघा जग्गा खरिद गर्यो । त्यो जग्गा केही कम्पनी र केही सञ्चालकको नाममा छ । त्यसपछि भ्युटावरको योजना ल्याइयो । त्यसवेला उनीहरूले तीन लाख प्रतिकट्ठा किनेको जग्गाको अहिलेको चलनचल्तीको मूल्य ५० लाख पुगेको छ । उनीहरूले फन पार्क र कृषि फार्म खोल्ने भनेर स्थानीयसँग सस्तोमा जग्गा किनेका थिए । संघीय सरकारले भ्युटावर निर्माण गरे पनि यहाँको जग्गा दमक नगरपालिकाको नाममा छ । भ्युटावरका लागि दान दिइएको करिब पाँच बिघा जग्गामध्ये फिर्ता पाउनुपर्ने जग्गा फिर्ता नपाएपछि दमक नगरपालिकाका तत्कालीन नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र वडाध्यक्ष नवीन बरालले ३१ जेठ ०७५ मा कागज बोकेर नगरपालिका बराम्बार धाइरहेका छन् ।
यद्यपि, उनीहरूले नगरपालिकाबाट सन्तुष्ट हुने जवाफ नआएको सञ्चालकमध्येका कृष्णराज खतिवडा बताउँछन् । भ्युटावरको योजना आउनुभन्दा पहिला नै आफूहरूले स्थानीयबाट फन पार्क बनाउन जग्गा खरिद गरेको उनी बताउँछन् । तर, पछि दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल (जो ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए)ले भ्युटावर बनाउँदा आफूहरूले खरिद गरेको जग्गा पनि राम्रो हुने बताएपछि जग्गा दान दिइएको उनी बताउँछन् । ‘हामीले पनि सरकारी प्रोजेक्ट राम्रो होला भनेर जग्गा दियौँ । त्यति मात्र होइन दुई बिघा जग्गा सापटी पनि दियौँ । तर, अहिले बर्बाद भयो । नगरपालिकाले फिर्ता गर्ने भनेर कागज गरेको जग्गा हामीलाई दिनुपर्छ,’ उनी भन्छन्, ‘जग्गा उपलब्ध नगराउने हो भने हामीलाई चलनचल्तीको मूल्य नगरपालिकाले दिनुपर्छ । ६ महिनाको म्याद राखेर कागज गरेको सात वर्ष भयो, हामीले पाएनौँ । त्यति पनि नगर्ने हो भने हामीलाई नगरपालिकाले लिखित जवाफ देओस् हामी अदालत जान्छौँ ।’ तत्कालीन नगर प्रमुख ओली, उपप्रमुख अधिकारी र वडाध्यक्ष बरालले गरिदिएको कागजको कुनै अभिलेख दमक नगरपालिकामा नभेटिएको नगर प्रमुख रामकुमार थापा बताउँछन् ।