
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै भएको दाबी गरेका छन् । अहिले कानुनी र संख्याको हिसाबले सदनमा तेस्रो स्थानमा भए पनि नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै भएको उनको दाबी छ ।
‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ । तर, हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो,’ प्रचण्डले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
कांग्रेस र एमालेप्रति लक्षित गर्दैै प्रचण्डले जतिसुकै संख्या भए पनि अरू शक्ति प्रतिपक्ष भएको उनले बताएका छन् । ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो,’ उनले भनेका छन् ।