मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
२o८१ चैत २४ आइतबार o९:oo:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : काठमाडौंलाई हराउँदा पोखरालाई राहत

अघिल्लो दुई खेलमा कमजोर प्रदर्शन गर्दै दबाबमा रहेको पोखरा थन्डर्सले शनिबार पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सलाई २–० ले हराउँदै प्लेअफ सम्भावना राख्यो कायम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार o९:oo:oo

पूर्वच्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गरेपछि तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सले राहत महसुस गरेको छ । शनिबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा पोखराले काठमाडौंलाई २–० ले हरायो । पहिलो जितपछि पोखरा दबाबमुक्त भएको छ । यदि काठमाडौंविरुद्ध पराजित भएको खण्डमा पोखराको प्लेअफ सम्भावना लगभग समाप्त हुने थियो । 

पोखरालाई काठमाडौंविरुद्ध गर या मरको स्थिति थियो । यस्तो अवस्थामा पोखरालाई विदेशी खेलाडी स्टेफन समीर विनोङ र सुदिल राईले उद्धार गरेका छन् । सुरुमै एक गोल गरेका क्यानरुनी स्टारले पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुके । दोस्रो गोलनजिक रहेको विनोङको प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले रोकेका थिए ।

जितपछि पोखराका प्रशिक्षक सुमन श्रेष्ठ खुसी देखिए । ‘हामीलाई जसरी पनि जित्नैपर्ने दबाब थियो । यस्तो अवस्थामा जित्दा राहत महसुस भएको छ,’ श्रेष्ठले भने, ‘लगातार खराब प्रदर्शनपछि टोलीमाथि प्रश्न उठेको थियो । अब, दबाबमुक्त भएर खेल्छौँ ।’ पोखरा पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा भने सुधारिएको प्रदर्शन गरे पनि ललितपुर सिटीविरुद्ध ३–२ ले पराजित भएको हो । टोलीको तीन खेलमा चार अंक छ । अब, पोखराले लिगमा धनगढी, चिवतवन र बुटवल लुम्बिनीसँग खेल्ने तालिका छ । 

यता, पराजित काठमाडौं भने चर्काे दबाबमा छ । पहिलो संस्करण च्याम्पियन बनेको काठमाडौंले तेस्रो संस्करणको तेस्रो खेलसम्म जितको स्वाद चाख्न पाएको छैन । काठमाडौं पहिलो खेलमा साबिक विजेता पोखरा थन्डर्सविरुद्ध २–२ को बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पनि टोली झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । काठमाडौंका लागि बेल्जियम प्रशिक्षक प्याट्रिक डी वाइडले बाँकी तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाउने दाबी गरे । ‘सुरुका तीन खेल बिग्रिएका छन् । हामी बाँकी तीन खेल जित्दै प्लेअफमा स्थान बनाउनेछौँ ।’ प्याट्रिकले पछिल्लो सिजन ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुग्दै च्याम्पियन भएको स्मरण गराउँदै आफ्नो टोलीले पनि सोही नतिजा निकाल्ने दाबी गरेका छन् । 

विनोङ र सुदिलको विजयी गोल
दुई खेलमा एक अंक जोडेको पोखरालाई तेस्रो खेलमा जित दिलाउन २७ वर्षीय क्यानरुनी स्टार विनोङ र सुदिल नायक बने । २५औँ मिनेटमा बिनोङको गोलमार्फत पोखराले अग्रता लियो । उनले उज्वेकिस्तानका रक्षक साइदोस्तोन जाफरोभको क्रसलाई बक्सभित्रबाट निकै चलाखीपूर्ण हेडर गर्दै सिजनको पहिलो गोल गरेका हुन् । खेलको ३८औँ मिनेटमा बिनोङ पेनाल्टीमा चुक्दा पोखराले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो । उनको प्रहार युवा गोलकिपर अभिषेकले रोकेका थिए । यसअघि काठमाडौंका कप्तान कुलदीप कार्कीले बिनोङलाई नै १८ यार्डभित्र लडाएपछि पोखराले पेनाल्टीको अवसर पाएको थियो । सुदिलले ५९औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । कप्तान आयुष घलानको क्रसलाई सुदिलले गोललाइनबाट सदुपयोग गरेका थिए । बाँकी समय काठमाडौंले गोलको प्रयास गरे पनि सफल भएन । काठमाडौंका दिनेश हेम्जन, मोहम्मद बुया टुरे, जिलेस्पीजंग कार्की र भिन्सेन्ट कोजिएल्लो बारम्बार गोल गर्न चुकेका थिए । 

धनगढी र ललितपुर खेल्दा कार्डको वर्षा
प्रतियोगिताको निकै बलियो टोली मानिएका धनगढी एफसी र ललितपुर सिटी एफसीबिचको खेलमा कार्डको वर्षा नै भयो । फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलभर आठपटक पहेँलो कार्ड देखाएका थिए । उनले खेलको ४३औँ मिनेटमा समान तीन, १२औँ मिनेटमा समान दुई कार्ड देखाए । यद्यपि, खेलमा कुनै गोल हुन सकेन । दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि फाइनल थर्डमा चुके । खेलमा बरम्बार दुवै टोलीका खेलाडीले एकअर्काविरुद्ध जाइलागेपछि रेफ्री क्षेत्री निकै व्यस्त रहे । खेलमा धनगढीका तीनजना विदेशी खेलाडी मोहम्मद एल जाओनी (मोरक्को), अहमद हिजाजी (लेबनान) र सर्जियो बार्बाेजा (ब्राजिल)ले पहेँलो कार्ड पाएका थिए । यता, ललितपुरका लागि सनिश श्रेष्ठ, मनिकुमार लामा, सन्तोष खत्रीसहित विदेशी खेलाडीहरू इमो इजेकेई (नाइजेरिया) र पापा केबे (फ्रान्स)लाई कार्ड देखाइएको थियो । 

यो नतिजासँगै तीन खेलमा पाँच अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ । धनगढी दुई खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ । ललितपुरले पहिलो खेलमा काठमाडौंसँग २–२ को बराबरीमा रोकिँदा दोस्रो खेलमा पोखरालाई ३–२ ले हराउन सफल भएको थियो । यता, धनगढीले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ ले हराएको थियो । 

  रोबर्टाे कार्लाेस नेपाल आउने 
फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । कार्लाेससम्मिलित ब्राजिलले सन् २००२ को फिफा विश्वकप जितेको थियो । एनएसएलको आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले प्रतियोगिता दौरान ब्राजिलका स्टारलाई नेपाल ल्याउने शनिबार घोषणा गरेको हो ।

कार्लोसको सन्देशसहितको भिडियो दशरथ रंगशालाको ठुलो स्क्रिनमा सार्वजनिक गरिएको थियो । कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छन् । ५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनले ब्राजिलका लिग १२५ खेलमा १० गोल गरेका छन् । व्यवसायी करिअरमा अधिकांश समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका कार्लोसले इन्टर मिलान, फेनरबाखजस्ता क्लबको जर्सी पनि लगाएका छन् ।