मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ चैत २४ आइतबार o८:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टनकपुर–ब्रह्मदेवलाई धार्मिक नाकाका रूपमा सञ्चालन गर्न स्थानीयको माग

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार o८:५२:oo

नेपाल–भारतबिच रहेको टनकपुर–ब्रह्मदेव नाकालाई धार्मिक नाकाका रूपमा सञ्चालन गर्न सरोकारवालाले जोड दिएका छन् । शुक्रबार ब्रह्मदेवमा नेपाल र भारतका अधिकारीबिच भएको छलफलमा टनकपुर–ब्रह्मदेवलाई धार्मिक नाकाका रूपमा सञ्चालन गर्न जोड दिइएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले भारतीय पक्षबाट पुल सञ्चालन गर्न ढिलाइ भएको बताए । ‘यो नाका पछि त्रिदेशीय नाकाकै रूपमा पनि विकसित गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रोतर्फ वनबासा र टनकपुर दुवै पुलको कनेक्टिभिटी छँदै छ । अब भारतीय पक्षबाट समेत सहयोग हुनुपर्ने देखियो ।’ छलफलमा नेपालतर्फका स्थानीयले टनकपुर–ब्रह्मदेवलाई धार्मिक नाकाकै रूपमा विकास गरेर अघि बढ्नुपर्ने बताए । भारतको उत्तराखण्डको पुर्णागिरि, नेपालका सुदूरपश्चिमको ब्रह्मदेव सिद्धनाथ र महेन्द्रनगरको सिद्धबाबाका दर्शनार्थीलाई समेत मध्यनजर गर्दै यसलाई धार्मिक नाकाका रूपमा विकास गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ । 

टनकपुर बाँध निर्माणाधीन भएकाले त्यहाँको पुलमा  मोटरसाइकल मात्रै सञ्चालन गर्न पाइन्छ

बहुचर्चित टनकपुर बाँध निर्माणाधीन भएकाले त्यहाँको पुलमा चारपांग्रे सवारीसाधन सञ्चालन गर्न दिइएको छैन । झन्डै तीन दशकअघि निर्माण भएको पुलमा मोटरसाइकल मात्रै सञ्चालन गर्न पाइन्छ । त्यसले गर्दा दुई देशबिच हुने धार्मिक, पर्यटकीय, व्यावसायिक कामकाज प्रभावित भएको स्थानीयहरू बताउँछन् । 
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले पश्चिमी नाका गड्डाचौकी ब्रह्मदेवमा निर्माण भएका पुल २४सै घण्टा सञ्चालन गर्न आवश्यक रहेको औँल्याए । ‘आर्थिकदेखिका सबै सामाजिक कारोबारका लागि पुल निर्बाध निरन्तर खुलै हुनुपर्छ,’ उनले भने, ‘पुलकै कारण यस क्षेत्रको आर्थिक गतिविधि विकसित हुन सकेको छैन, यसमा निजी र सरकारी क्षेत्र पनि गम्भीर हुनुपर्छ ।’ 

सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले भारतीय तिर्थालुहरू पनि सिद्धनाथ मन्दिरमा आउने बताए । नेपाल भारतमैत्री संघका अध्यक्ष कृष्णप्रसाद पाठकले टनकपुर ब्रह्मदेव नाका सञ्चालन गर्दैै थप दुई देशबिच सम्बन्ध विस्तार गर्न जोड दिए । ‘ब्रह्मदेव–टनकपुरलाई धार्मिक नाकाकै रूपमा विकसित गराउन आफ्नो तर्फबाट पूर्ण पहल गर्छु,’ उनले भने, ‘यसमा प्रदेश र संघीय सरकारको समेत साथ–समर्थन सहयोग चाहिन्छ ।’ भारत उत्तराखण्ड सिँचाइ विभागका प्रमुख इन्जिनियर सञ्जीवकुमार श्रीवास्तले नेपालका स्थानीयको मागअनुरूप आफ्नो टोलीले पर्यटनमन्त्रीलाई जानकारी गराउने बताए । पुल सञ्चालनबारे पनि प्रदेशका मन्त्रीमार्फत केन्द्रीय सरकारसँग पहल गर्ने बताए ।