मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
Invalid date format o६:३o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं ९ : कृष्णगोपालको दोहोरिने प्रयासमा धमला चुनौती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३o:oo

राजधानीमा रोचक प्रतिस्पर्धा हुने मानिएको क्षेत्र हो, काठमाडौं क्षेत्र नम्बर ९ । यस क्षेत्रमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ र सत्तागठबन्धनका तर्फबाट माओवादी नेतृ कल्पना धमला प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा ०७४ मा तेस्रो मत पाएका विवेकशील अभियन्ता मिलन पाण्डेसहित २२ उम्मेदवार मैदानमा छन् ।श्रेष्ठ आठौँपटक प्रतिस्पर्धामा छन् । श्रेष्ठले ०७४ मा कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई आठ हजार ५० मतान्तरले पारजित गरेका थिए । धमलाका लागि भने यो नयाँ निर्वाचन क्षेत्र हो । उनी ०६४ मा धादिङ २ बाट निर्वाचित भएकी थिइन् । पाण्डेले ०७४ मा यसै क्षेत्रबाट तेस्रो मत पाएका थिए । उनले चार हजार नौ सय ४६ (१०.९७) प्रतिशत मत पाएका थिए । यस क्षेत्रमा १० स्वतन्त्रसहित २२ उम्मेदवार मैदानमा छन् । 

एमालेका श्रेष्ठ आफ्नो यो अन्तिम चुनाव भएको र त्यसपछि युवालाई अवसर दिने भन्दै मत मागिरहेका छन् । उनी स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हित, आर्थिक–सामाजिक विकास र रूपान्तरणमा तीव्रता, शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष जोड, बलियो सामाजिक सुरक्षा प्रणालीको विकास, भ्रष्टाचार नियन्त्रण र सुशासनयुक्त जनउत्तरदायी सरकार, ‘समृद्ध नेपाल सुखी नेपाली’को निर्माणको राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित मैदानमा छन् । 

सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाले ६० वर्षमाथि लागेपछि कार्यकारी पदमा नबस्ने प्रतिबद्धता जनाएकी छिन् । उनले निर्वाचित भए संविधानमा उल्लेख मौलिक हक कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताइन् । उनले निर्वाचन क्षेत्रका विज्ञहरूसँग छलफल गरेर ‘मास्टर प्लान’ बनाउने, त्यस क्षेत्रमा भएका जलाधार क्षेत्रको उपयोग गरेर खानेपानी समस्या समाधान गर्ने, पर्यटन विकासमार्फत रोजगार बनाउने, सांस्कृतिक सहरका रूपमा विकास गर्ने र प्राथमिक अवस्था निर्धारण गरी काम गर्ने अल्पकालीन र दीर्घकालीन योजना आफूसँग रहेको बताइन् ।

पाण्डे सात प्रतिबद्धतापत्र र मत हाल्नुपर्ने पाँच कारण देखाएर मैदानमा छन् । उन्नत संविधान नै समाधान, खुला सिंहदरबार–खुला संसद्, शिक्षा–स्वास्थ्यमा सुधार नै समृद्धिको आधार, संस्कृति सम्पदा नै सम्पत्ति, अब नोटसँगै भोट पनि चल्ने, भ्रष्टाचारको भण्डाफोर, महिला–पुरुष बराबर भन्दै उनले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । उनी यस क्षेत्रमा कांग्रेसको उम्मेदवार नहुँदा श्रेष्ठ र आफूबीच मात्रै प्रतिस्पर्धा हुने दाबी गर्छन् । त्यसैले विकल्पमा मतदाताहरू आफ्नो पक्षमा मत मागिरेहको उनी बताउँछन् ।

 प्रतिनिधिसभामा १० स्वतन्त्रसहित २२ उम्मेदवार 
शर्मिला सुवाल डंगोल (जनता समाजवादी पार्टी नेपाल), देवेन्द्र प्रधान (राप्रपा), सुमन महर्जन (नेमकिपा), प्रजुल जोशी (लोकतान्त्रिक समाजवादी पार्टी), अम्बिका थापा (मौलिक जरोकिलो पार्टी), इरस श्रेष्ठ (हाम्रो नेपाली पार्टी), उजला स्थापित (राष्ट्रिय जनमुक्ति पार्टी), रमेश थापा (नेपाली कांग्रेस बिपी), टेकबहादुर पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) ।

स्वतन्त्र उम्मेदवारहरू : उद्धव रोक्का, डा. ज्ञानबहादुर बस्नेत, भाइराजा भण्डारी, लक्ष्मणसिंह खड्का, सुनील रिजाल, रचना श्रेष्ठ, गणेश थापा, रामकुमार रिजाल, मधु कार्की, राजेन्द्रपसाद पाठक ।

 प्रदेश सभातर्फ
प्रदेश ‘क’ : तीन स्वतन्त्रसहित १० उम्मेदवार 
हरिकृष्ण डंगोल (एमाले), नानुमैया बाँस्तोला (कांग्रेस), नुरज बज्राचार्य (राप्रपा), राजु कपाली (नेमकिपा), सुष्मा शिख्रकार (जसपा), शैलेसरत्न शाक्य (हाम्रो नेपाली पार्टी), प्रभाकर महर्जन (नेपाली कांग्रेस बिपी), स्वतन्त्र उम्मेदवारहरू विनोद थापा, अशोक चूडामणि बज्राचार्य र अमरगोपाल श्रेष्ठ ।

प्रदेश ‘ख’ : तीन स्वतन्त्रसहित १० उम्मेदवार
केशवप्रसाद पोखरेल (एमाले), श्यामकृष्‍ण खड्का (कांग्रेस), दिलकुमार कार्की (राप्रपा), राजेन्द्र श्रेष्‍ठ (राप्रपा), रूपेश दानी (राष्ट्रिय जनमोर्चा), प्रधुम्न कार्की (नेपाली कांग्रेस बिपी), कृष्णबहादुर भट्ट (नेपाल नौलो जनवादी पार्टी), स्वतन्त्र उम्मेदवारहरू कृष्णबहादुर लामा, युवबहादुर सिलवाल र सूर्यकुमार कार्की । 

 निर्वाचन क्षेत्रका १४ वडामध्ये ८ मा कांग्रेस, ६ मा एमाले विजयी
गत स्थानीय तह निर्वाचनको अंकगणित हेर्दा यो क्षेत्रमा सत्तागठबन्धन एमालेभन्दा एक हजार सात सय ३४ मतले अगाडि छ । गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा २१ हजार ७६ छ भने एमालेको १९ हजार तीन सय ४२ मत छ ।

जसमा कांग्रेसको २० हजार १६, माओवादीको ६ सय ९५ र एकीकृत समाजवादीको तीन सय ६५ मत छ । यस क्षेत्रमा ३५ हजार ७३ मतदाता छन् । जसमा १७ हजार ४६ पुरुष र १८ हजार २६ महिला छन् । यस क्षेत्रअन्तर्गत पर्ने काठमाडौं महानगर, चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिकाका १४ वडामध्ये आठ वडामा कांग्रेस र ६ वडामा एमालेका वडाध्यक्ष विजयी भएका थिए । 

यस्तै, ०७४ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रञ्जितबीच मुख्य प्रतिस्पर्धा भएको थियो । श्रेष्ठले २२ हजार आठ सय ५२ मत ल्याएका थिए । रञ्जितले १४ हजार आठ सय २ मत पाएका थिए । ०७४ मा यस क्षेत्रमा ६७ हजार ६ सय ५१ मतदाता रहेका थिए ।