
मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको घटना असंवैधानिक मात्र नभएर प्रतिगमनको यात्रा भएको दाबी गर्दै नागरिक समाज र राजनीतिक दलहरूले एक भएर विरोध गर्नुपर्ने बताएका छन् । शान्ति समाज मोरङको शनिबार विराटनरमा भएको साधारणसभामा पहाडीले वर्तमान संविधानको निर्माण मात्र नभएर गणतन्त्र र संघीयता जन्माउने स्वामीत्व नेपाली जनतामा भएकाले धरापको अवस्थाबाट जोगाउन प्रतिगमनविरुद्ध सबै राजनीतिक दल र नागरिक समाज एक भएर आन्दोलनमा आउनुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीको सनक र लहडमा भएको प्रतिनिधिसभा विघटनबाट सिंगो नेपाल खुसी हुन नसकेको भन्दै पहाडीले देश र संविधान खतरामा भएकाले राजनीतिक दल, पेसाकर्मी, अधिकारकर्मी र मानवअधिकारवादी सबै जाग्नुपर्ने वेला आएको बताए ।
उनले प्रतिगमनको यात्रालाई अगाडि बढ्न नदिन प्रधानमन्त्री ओली मात्र नभएर ढुलमुले चरित्रका कांग्रेस सभापति शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराहरूलाई खबदार भन्न आग्रह गरे । पहाडीले भने ‘यतिखेर गणतन्त्र धरापमा छ त्यसैले, सबै सडकमा आएर खबरदार भन्न सक्नुपर्छ ।’
उनले गणतन्त्र बहालीपछि नागरिक बलियो हुन नसक्दा देश बलियो हुन नसकेको र राजनीतिलाई सेवामुखी विकासमा परिणत गर्न नसक्दा कुशासन बढेकाले आधारभूत वर्गका जनताले सुखको अनुभूति गर्न नसकेको जिकिर गरे ।