
रुवान्डाले अगस्ट ५ मा ट्रम्प प्रशासनको विस्तारित तेस्रो देश निर्वासन कार्यक्रमअन्तर्गत २५० आप्रवासीलाई स्वीकार गर्न सहमत भएको घोषणा गर्यो । तर, राजधानी किगालीबाट बोल्दै सरकारी प्रवक्ता योलान्डे माकोलोले रुवान्डाले कसलाई निर्वासन अन्तरगत ‘पुनर्वास’का लागि स्वीकार गर्ने भन्ने अधिकार आफूहरूमा निहित रहेको बताइन् । आफ्नो देशमा स्वीकार गरिएकाहरूले ‘जीवन पुनर्निमाणमा’ सहयोग गर्न तालिम, स्वास्थ्य सेवा र आवास प्राप्त गर्ने समेत उनले बताइन् ।
यो कार्यक्रम राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिकी इतिहासको सबैभन्दा ठुलो निर्वासन अभियान’ संचालन गर्ने विवादास्पद प्रतिज्ञाको एक अंश हो । यसले अफ्रिकी महादेशमा आफ्नै ढाँचाको तेस्रो निर्वासन सम्झौतालाई पनि संकेत गर्छ । जुलाई १६ मा अमेरिकाले भियतनाम, जमैका, लाओस, क्युबा र यमनबाट पाँचजना दोषी ठहरिएका अपराधीलाई पहिले स्वाजिल्यान्ड भनेर चिनिने इस्वातिनी पठायो । उनीहरूलाई ‘बर्बर र हिंसात्मक’ भनेर वर्णन गरिएको र उनीहरूका मूल देशहरूले अस्वीकार गरेको राजधानीनजिकैको मत्साफा सुधारपरिसरका पृथक् एकाइमा राखिएको छ । अहिले उनीहरू स्वदेश फिर्तीका लागि पर्खिरहेका छन् ।
यी सम्झौता अन्यायपूर्ण छन् । अमेरिकाले कमजोरलाई झन् कमजोर बनाएर अरूलाई बलियो बनाइरहेको छ । ट्रम्पको स्थापित क्रूरता भयानक छ । सन् २०१९ मा उनको नीतिले बालबालिकालाई आतंकित र अभिभावकबाट छुट्याएर एक्लो बनाउने काम गरेको थियो । अहिले अमेरिकाले आप्रवासीलाई रुवान्डा, इस्वाटिनी र दक्षिण सुडान (पहिले नै आफ्ना नागरिकको हेरचाह गर्न संघर्ष गरिरहेका देशहरू) मा पठाउँदै छ ।
ट्रम्पको नीतिले अफ्रिकाप्रतिको ‘भिक्टोरियन युगिन’ दृष्टिकोणलाई उजागर गर्छ, जहाँ यसलाई एक उजाड, अपूरणीय महाद्वीप मान्दै सम्मान वा समान साझेदारीका लागि अयोग्य मानिन्छ । उनको दृष्टिकोणले पश्चिमी परम्परालाई प्रतिध्वनित गर्छ, जुन कोनराडको ‘हार्ट अफ डार्कनेस’मा देखिएको थियो, जहाँ अफ्रिकालाई ‘अँध्यारो’ र ‘आदिम’ का रूपमा चित्रण गरिएको छ ।
हो, अफ्रिकामा चुनौतीका पहाड छन् । तैपनि, हामी सीमान्तकृतलाई मोहरामा परिणत गर्दैनौँ । हाम्रो मानवता अटल र निन्दारहित छ । आज युगान्डाले लगभग १७ लाख शरणार्थीलाई आश्रय दिन्छ, जसका कारण यो अफ्रिकाको सबैभन्दा ठुलो शरणार्थीलाई आश्रय दिने देश बनेको छ । यो संख्या आज बेलायत, फ्रान्स र बेल्जियममा रहेका कुल शरणार्थी संख्याभन्दा बढी हो ।
युरोपले शरणार्थीका लागि धेरै ठुलो जिम्मेवारी लिनुपर्छ । तेस्रो देशमा निर्वासन सम्झौता विश्वसनीय नीति होइन । तिनीहरू उपनिवेशवादको रूपमा पुनर्जन्म हुन् । कुनै पनि आत्म–सम्मानित अफ्रिकी नेताले कहिल्यै संगठित अत्याचारमा सहभागी हुन सहमत हुनुहुँदैन । अफ्रिकामा अझै पनि पश्चिमले लगाएको घाउबाट रगत बगिरहेको छ । सुडानको गृहयुद्ध, लोकतान्त्रिक गणतन्त्र कंगोमा नागरिक अशान्ति, नाइजेरियाको डेल्टामा वातावरणीय विनाश र सिएफएमार्फत फ्रान्सेली मौद्रिक साम्राज्यवादको निरन्तर पहुँच केही उदाहरण हुन् ।
‘अंकल साम’ले अहिले युद्धपोतको सट्टा दोषी ठहरिएका अपराधी र हतास शरणार्थीलाई अफ्रिका पठाउने योजना कार्यन्वयन गर्दै छन् । अपराधीका लागि व्यापक पुनस्र्थापना र कमजोरका लागि सुरक्षित आश्रय अमेरिकाभित्रै हुनुपर्छ । होइन भने युरोप एक मात्र विकल्प हुन सक्छ ।
वासिंटनका धनी सहयोगी युरोपलाई एकपटकका लागि बोझ बोक्न दिईयोस् । रुवान्डा, इस्वाटिनी र दक्षिण सुडान संसारका सबैभन्दा गरिब राष्ट्रमध्ये एक हुन् । तिनीहरूको प्रतिव्यक्ति आय युरोपका तिनका पूर्व–औपनिवेशिक शासकको तुलनामा अत्यन्त न्यून छ । अमेरिकाले निर्वासितको बोझ बोक्ने यी देशले बोकोस् भनेर अपेक्षा गर्नु अन्यायपूर्ण मात्र होइन, बेतुक पनि छ ।
ग्यास्टन निभास र थोमस पिकेटीले मे २०२५ मा गरेको एक अध्ययनले अनुसार असमान विनिमय र धनी–गरिब देशका सम्बन्धले दुई शताब्दीभन्दा बढी समयदेखि विदेशी सम्पत्ति सञ्चयको विश्लेषण गरेको छ । त्यस अनुसार सन् १९१४ सम्ममा युरोपेली शक्तिले जिडिपीको करिब १४० प्रतिशत खुद विदेशी सम्पत्ति राखेका थिए, जसले औपनिवेशिक स्थानान्तरण, कृत्रिम रूपमा कम वस्तुको मूल्य, जबर्जस्ती श्रम र शोषणले युरोपको समृद्धिलाई कसरी बढावा दियो भनेर जोड दिन्छ ।
जुवादेखि किगालीसम्म, औपनिवेशिक लुटपाटले अझै पनि विश्वव्यापी असमानतालाई बढावा दिएको छ । सन् १८८५ को विनाशकारी बर्लिन सम्मेलनपछि जारी गरिएको प्रणालीगत क्रूरतामा फर्कनु (जतिवेला युरोपेली शक्तिले अफ्रिकालाई क्षतविच्छेद गरेर बाँडेका थिए) स्वीकार्य छैन । रुवान्डा, दक्षिण सुडान वा इस्वातिनीका अधिकारीले सार्वजनिक रूपमा जेसुकै दाबी गरे पनि आजका लागि औपनिवेशिक शोषणलाई पुन: प्याकेज गरिएको छ ।
यो कुनै नयाँ रणनीति होइन । १९औँ शताब्दीको सुरुवातदेखि नै धेरै युरोपेली उपनिवेशलाई अपतटीय निकासी केन्द्र र डम्पिङ ग्राउन्डमा सीमित गरिएको थियो । फ्रान्सले दोषी र राजनीतिक निर्वासितलाई हालको गाबोन र जिबुटीजस्ता क्षेत्रमा निर्वासित गर्यो । स्पेनले क्युबाबाट निर्वासितका लागि दण्डात्मक बस्तीको रूपमा इक्वेटोरियल गिनीको बायोको टापु प्रयोग गर्यो ।
अफ्रिकालाई नयाँ झट्का दिँदै अमेरिकाले त्यही साम्राज्यवादी अधिकारलाई पुनर्जीवित गरेको छ । अमेरिकामा धेरैजसो अनियमित आप्रवासी भेनेजुएला, मेक्सिको, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, निकारागुआ र हैटीबाट आउँछन् । यी शताब्दीयौँदेखि युरोपेली उपनिवेशवाद र अमेरिकी साम्राज्यवादी हस्तक्षेपबाट पीडित राष्ट्र हुन् । यी देशले औपनिवेशिक विरासत र भूराजनीतिक हस्तक्षेपको निरन्तर प्रभावलाई मूर्त रूप दिन्छन्, जसले बसाइँसराइलाई बढावा दिन्छ ।
तैपनि, पश्चिमा र सबैभन्दा बढि युरोपले विगत र वर्तमानमा आफ्ना अपराधको परिणामलाई अस्वीकार गर्छ । युरोपेली राष्ट्र शताब्दीयौँदेखिको औपनिवेशिक शोषणबाट निश्चित रूपमा समृद्ध भएका छन् । उदाहरणका लागि बेलायत, फ्रान्स, बेल्जियम र नेदरल्यान्ड्सले बलियो कल्याणकारी प्रणाली, जनस्वास्थ्य सञ्जाल र जेल पुनस्र्थापना कार्यक्रमको गर्व गर्छन्, जुन शताब्दीयौँदेखि औपनिवेशिक निकासीमा निर्मित भव्य संरचना हुन् । तिनीहरूसँग निर्वासितलाई आत्मसात् गर्ने साधन र संस्था दुवै छन् ।
तिनीहरूसँग तथ्यांक पनि छ । यिनै शक्तिले अफ्रिकाभरि सार्वभौम राष्ट्रलाई लक्षित र अस्थिर बनाउन अमेरिकासँग उत्सुकतापूर्वक सामेल भएका छन् । प्रत्येक हस्तक्षेपले शरणार्थी, असहाय पुरुष, महिला र बालबालिकाको ताजा लहर जारी गरेको छ, जुन पश्चिमी सेनाले सिर्जना गरेको अराजकताबाट भागेका छन्, शक्तिहीन मानिसलाई पश्चिमले खुलेआम बेवास्ता वा घृणा गर्छ ।
हामीलाई परनिर्भर राख्न डिजाइन गरिएको औपनिवेशिक ऋणले जकडिएको भए पनि हामी सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्छौं, शान्तिका लागि प्रयास गर्छौं । युरोपले नियम तोड्छ, अफ्रिकाले त्यसको पालना गर्छ । तैपनि, अफ्रिकालाई बोझ बोक्न भनिएको छ । कपट उदेकलाग्दो छ ।
अलजजिराबाट