
डडेल्धुराको नवदुर्गा गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिप चालकसहित छ जना यात्रु घाइते भएका छन् । से१ज ७३८ नम्बरको जिप नवदुर्गा–५, चौडमा बिहान सवा नौ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर जिपमा सवार नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए ।
दुर्घटनामा परेर जिप चालक नवदुर्गा–५, का ३५ वर्षीय रामबहादुर साउद, सोही ठाउँका १८ वर्षीया सुशीला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएकाे प्रहरीले जनाएको छ ।
निजि गाडीबाट सदरमुकाम पुर्याइएका घाइते चालक साउँदलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । अन्य घाइतेहरुलाइ एम्बुलेन्सबाट डडेल्धुरा अस्पताल ल्याइँदै छ ।
नवदुर्गा गाउँपालिका–५, ठाटाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको उक्त जिप दुर्घटनामा परेको हो । घटनास्थलमा छ जना घाइते भेटिएकाे उल्लेख गर्दै प्रहरी निरीक्षक बिष्टले पानी परेका कारण कच्ची बाटो चिप्लो भएर जिप सडकबाट खसेको हुनसक्ने बताए ।