मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
Invalid date format १o:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतमा अनलाइन गेमिङको नयाँ कानुन : बिसिसिआईको ६ अर्ब १७ करोडको प्रायोजन रद्द

कानुन लागू भएसँगै भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजकबाट ड्रिम ११ पछि हट्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२८:oo

भारतमा अनलाइन गेमिङसम्बन्धी नयाँ कानुन लागू भएसँगै यसको ठुलो असर क्रिकेटमा परेको छ । फ्यान्टेसी स्पोर्टस् कम्पनी ड्रिम ११ र भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) बिचको मुख्य प्रायोजकको सम्झौता रद्द भएको छ । ड्रिम ११ ले भारतको क्रिकेटसँग कुनै पनि किसिमको प्रायोजन नगर्ने जनाएको छ । ड्रिम ११ ले बिसिसिआईसँग सन् २०२३ देखि २०२६ सम्मका लागि ६ अर्ब १७ करोड नेपाली रुपैयाँको सम्झौता गरेको छ ।

कानुन लागू भएसँगै ड्रिम ११ ले पैसा लिएर दिने आफ्ना सबै सेवा बन्द गरिसकेको छ । यसैकारणले ड्रिम ११ ले भारतीय टोलीको मुख्य प्रायोजकबाट पछि हटेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । बिसिसीआईका सचिव देवजित सैकियाले अनलाइन गेमिङसम्बन्धी नयाँ ऐन लागू भएपछि ड्रिम ११ सँगको साझेदारी तोडेको बताएका छन् । अब भारतीय टोली ९ सेप्टेम्बरदेखि सुरु हुने एसिया कपमा प्रायोजकविहीन हुनेछ । ‘नयाँ ऐन लागू भएपछि बिसिसीआईले ड्रिम ११ सँगको साझेदारी तोडेको छ । भविष्यमा यस्ता संस्थासँग कुनै सम्बन्ध राखिनेछैन,’ देवजितले भने ।

ड्रिम ११ र अर्को फ्यान्टेसी स्पोर्टस् कम्पनी माई ११ सर्कलले मिलेर भारतीय क्रिकेट टोली र आइपिएलको प्रायोजनमार्फत बिसिसिआईलाई एक हजार करोड भारतीय रुपैयाँ दिँदै आएका छन् । भारतको केन्द्र सरकारले हालै संसद्का दुवै सदनबाट ‘अनलाइन गेमिङको प्रवद्र्धन तथा नियमन ऐन २०२५’ पारित गरेपछि पैसा राखेर खेलिने अनलाइन गेमिङलाई प्रतिबन्ध लगाएको हो । नयाँ कानुनले सामाजिक गेमिङ र शुल्क तिरेर खेल्नेलाई अनुमति दिए पनि वास्तविक पैसाको बाजी राख्ने खेलमाथिको प्रतिबन्ध लगाएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ कानुनसँगै ड्रिम ११ को आम्दानीको सबैभन्दा ठुलो हिस्सा गुमेको छ । ‘हामी कानुनको पालना गर्ने कम्पनी हौँ । हामीले आफ्नो व्यापार सधैँ कानुनको दायरामा रहेर गरेका छौँ,’ ड्रिम ११ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रगतिशील कानुन ल्याएको भए अझ राम्रो हुन्थ्यो । तर, पनि हामी कानुनको सम्मान गर्नेछौँ र अनलाइन गेमिङको प्रवद्र्धन तथा नियमन विधेयक, २०२५ को पूर्ण रूपमा पालना गर्नेछौँ ।’

९० प्रतिशत आम्दानी अनलाइनबाटै
फ्यान्टेसी बजारका सबै ठुला कम्पनीको कम्तीमा ९० प्रतिशत आम्दानी यसै अनलाइनबाट आउँछ । आइपिएलको आधिकारिक फ्यान्टेसी पार्टनरका रूपमा माई ११ सर्कल हो । उसले बिसिसिआईलाई वार्षिक एक सय २५ करोड रुपैयाँ तिर्छ ।

‘कुनै पनि व्यक्तिले अनलाइनमा पैसा राखेर खेल्ने खेलका लागि सेवा दिन, सहयोग गर्न, उक्साउन वा त्यसमा संलग्न हुन पाउनेछैन,’ नयाँ सरकारी ऐनमा भनिएको छ, ‘साथै, यस्ता खेल खेल्नका लागि प्रोत्साहन गर्ने कुनै पनि किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष विज्ञापन गर्न पनि पाइनेछैन ।’ ड्रिम ११ ले सम्झौता तोडेबापत ठुलो जरिवाना तिर्नुपर्दैन । ड्रिम ११ र बिसिसिआईको सम्झौतामा विशेष प्रावधानमा सरकारले कुनै नयाँ नियम वा कानुन ल्याएमा जरिवानामा छुट मिल्ने लेखिएको छ ।