
विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै निजी विद्यालयका शिक्षकले प्रदर्शन गरेका छन् । ५ भदौदेखि आन्दोलनमा उत्रिएका उनीहरूले सोमबार पनि नयाँ बानेश्वर–बबरमहल हुँदै माइतीघरसम्म प्रदर्शन गरेका हुन् ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ५ भदौमा मात्रै विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । उक्त विधेयकमा निजी विद्यालयलाई कडाइ गर्ने गरी प्रावधान राखिएको भन्दै निजी विद्यालयका सञ्चालक र शिक्षक आन्दोलित बनेका छन् ।
विशेषगरी पूर्ण छात्रवृत्ति, गैरनाफामूलकजस्ता प्रावधानमा निजी विद्यालयहरूले आपत्ति जनाएका छन् । आन्दोलनको नेतृत्व प्याब्सन, एन प्याब्सन र हिसानलगायतले गरेका छन् । यसअघि ४ भदौमा पत्रकार सम्मेलन गर्दै निजी विद्यालयहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्नेलगायत माग राखेका छन् ।
यसैबिच विद्यालय शिक्षा विधेयकलाई नै लिएर सामुदायिक विद्यालयका शिक्षक पनि आन्दोलनमै छन् । सोमबार नेपाल शिक्षक महासंघले विधेयकमा संशोधनको मागसहित प्रधानमन्त्री, शिक्षामन्त्री, दलका प्रमुख सचेतकलाई पत्राचार गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अघि बढिसकेको विधेयकमा थप संशोधन हुनुपर्ने महांसघको माग छ ।