मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार o८:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थरुहट रंगशालाको सार्वजनिक व्यायामशाला प्रयोगविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार o८:o५:oo
  • नगर खेलकुद विकास समितिका पूर्वअध्यक्ष प्रदीप श्रेष्ठ भन्छन्– नगरपालिकाको रेखदेख नहुँदा जिम सेन्टर जीर्ण बनेर प्रयोगविहीन भएको छ

मर्मतको अभावमा गाईघाटको थरुहट रंगशालामा पाँच वर्षअघि निर्माण भएको सार्वजनिक व्यायामशाला प्रयोगविहीन बनेको छ । त्रियुगा नगरपालिका– १३, थरुहट रंगशालाको छेउमा त्रियुगा नगरपालिकाले २०७८ सालमा सञ्चालनमा ल्याएको सार्वजनिक व्यायामशाला मर्मत अभावमा प्रयोगविहीन बनेको हो ।

कोभिड– १९ को महामारीपछि स्थानीयहरूलाई आधारभूत शारीरिक कसरत गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएको व्यायामशाला प्रयोगविहीन मात्र बनेको छैन, सार्वजनिक सम्पत्तिको बेवास्ता गरिएको प्रस्ट छ । व्यायामशालाका उपकरण कुनै भाँचिएका छन्, कुनै कामै नलाग्ने गरी टुटेका छन् ।

बिहान व्यायामशालानजिकै भेटिएका गाईघाट स्थानीय अस्मिक खत्रीले नगरपालिकाले बेवास्ता गर्दा जिम (व्यायामशाला) प्रयोगविहीन बनेको बताए । ‘नगरपालिकाले लाखौँ खर्चेर बनाएको व्यायामशाला अहिले काम नै नलाग्ने भएको रहेछ । शारीरिक कसरत गर्न पनि नमिल्ने भएछ । मर्मत गरिदिए पुन: प्रयोग गर्न सकिने देखिन्छ । तर, सबै उपकरण नयाँ लगाउनुपर्छ ।’ कोरोना भाइरसको समयमा देशैभर सार्वजनिक व्यायामशाला खुल्नेक्रम चलेको थियो । त्यही समयमा त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीले पनि नगर खेलकुद विकास समितिबाट सार्वजनिक व्यायामशाला (ओपन जिम सेन्टर) निर्माण गरेर उद्घाटन गरेका थिए । सहज रूपमा आधारभूत शारीरिक कसरत गर्न स्थानीयलाई सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएको व्यायामशालाको लगानी अहिले बालुवामा पानी भएको टिप्पणी स्थानीयको छ ।

अर्का स्थानीय रामबाबु राईले नगरपालिकाले लगानी गरेर पनि टिकाउन नसक्नु दु:खद भएको बताए । उनले भने, ‘जनताकै पैसाको यसरी दुरुपयोग हुन्छ भन्ने उदाहरण थरुहट रंगशालाको जिम सेन्टर हेर्दा हुन्छ ।’

तत्कालीन त्रियुगा नगरपालिकाका नगर खेलकुद विकास समितिका पूर्वअध्यक्ष प्रदीप श्रेष्ठले नगरपालिकाको रेखदेख नहुँदा जिम सेन्टर जीर्ण बनेर प्रयोगविहीन भएको बताए । उनले भने, ‘कोरोना महामारीको समयमा आधारभूत शारीरिक कसरत गर्न सहज होस् भनेर विभिन्न प्रकारका कसरत गर्ने नौवटा उपकरणसहित जिम सेन्टर सञ्चालनमा ल्याएका थियौँ । अहिले नगरपालिकाले बेवास्ता गर्दा जीर्ण बनेको छ ।’

उनले त्यसवेला नौ लाख लागतमा निर्माण भएको पनि बताए । उनले भने, ‘२०७८ मा निर्माण भयो । त्यसपछि २०७९ मा त्रियुगा नयाँ मेयरसाब आउनुभयो । अनि उहाँले घेराबेरा र छाना मात्र लगाइदिनुभएको र बिग्रिएका उपकरण मर्मत गरिदिएको भए सञ्चालनमा आउने थियो ।’ जिम सेन्टर पुग्नेहरूले नगरपालिकाको लापरबाहीले सार्वजनिक सम्पत्ति नष्ट भएको बताउँछन् । उनै श्रेष्ठ थप्छन्, ‘हालका जनप्रतिनिधिहरूले अलिकति ध्यान दिए पुन: प्रयोग गर्न सकिन्छ ।’ व्यायामशाला अर्थात् जिम सेन्टर मर्मत नहुँदा निजी लगानीमा खोलिएका जिम सेन्टर जान नसक्नेहरू मारमा परेका छन् । त्रियुगा नगरपाकिलाका नगर खेलकुद विकास समितिका अध्यक्ष विजय सिंहलाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

तर, अर्का स्थानीय कजन मगरले रंगशालाको व्यायामशालामा व्यायाम गर्न नपाएको गुनासो गर्दै भने, ‘मेयर बलदेव चौधरीले बनाएको व्यायामशाला अहिले काम नलाग्ने अवस्थामा पुग्दा पनि वर्तमान मेयर वसन्तकुमार बस्नेतले बेवास्ता गरेको अनुभव हुन्छ ।’ 

तर, त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले व्यायामशाला अर्थात् ओपन जिम सेन्टर आगामी दिनहरूमा व्यवस्थित गर्ने गरी तयारी गरेको बताए । उनले भने, ‘त्यो जिम सेन्टरलाई मर्मत गरेर टुटेका र बिग्रेका उपकरण परिवर्तन गरेर नयाँ बनाउने गरी चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेका छौँ । खुला जिम सेन्टरलाई अब घेराबेरा गर्ने र गेट पनि बनाउने गरी बहुवर्षे योजना समेटेका छौँ । अब झन्डै ५०/६०) लाखको योजना बनाएका छौँ ।’