
गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन्। गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन्।
पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ। प्रेमभावको यो गीतमा प्रेमकै शब्द तथा संगीत छ।
गायक–गायिका स्वयं फिचर्ड गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ। गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन्।
लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण लिएर डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रेमले यसअघि ‘सानी, तिम्रो पाउजु’, ‘आऊ गाऔँ’, ‘तिमीले लाको चौबन्दी’लगायत गीत बजारमा ल्याइसकेका छन्।