मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१४ वर्षसम्म कमला पुल अलपत्र : नदी वारपार गर्न डुंगामा प्रतिमोटरसाइकल सय र व्यक्तिले ५० रुपैयाँ तिर्न बाध्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार o८:oo:oo

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माणका लागि स्थानीय युवाहरू आमरण अनशन बसे । प्रधानमन्त्री, मुख्यमन्त्री, विभागीयमन्त्री, सांसदहरूको ध्यानाकर्षण गराएपछि अलपत्र पुल निर्माणका लागि पहल गर्ने आश्वासन त पाए, तर बर्खाको समयमा वर्षौँदेखि जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यताबाट अझै मुक्ति पाएका छैनन् ।

बर्खा लागेसँगै नदीमा पानीको बहाब बढे पनि कामविशेषले नदी वारपार गर्नैपर्नेहरू डुंगाको भर पर्न बाध्य रहेको सिराहा नगरपालिका– ५ का वासुदेव यादवले बताए । ‘गाईबस्तुलाई घाँसपात, खेतीपातीका लागि दैनिक पारिपट्टि जानैपर्छ,’ उनले भने, ‘डुंगा चढ्न डर लाग्छ, तर अन्य विकल्प पनि त छैन ।’ डुंगा पल्टिएर बाढीको भेलले बगाउला कि भन्ने त्रासमा नदी वारपार गर्दै आएको उनले बताए ।

पुलको दक्षिणपट्टि गत कात्तिकको तेस्रो हप्तादेखि आवतजावत गर्न बाँस र मोटो प्लाई हालेर बनाइएको अस्थायी पुल वैशाख अन्तिम साता आएको बाढीले बगाएको थियो । त्यसपछि अलपत्र पुलको पूर्वतर्फ ठड्याएको बाँसमा प्लाई ठोकेर बनाइएको संरचना पनि करिब एक साताअघिको बाढीले बगाएको छ । ‘वारपार गर्ने सबै बाटो बन्द भएपछि डुंगा नै अन्तिम विकल्प बनेको छ,’ डुंगा चढेर धनुषातर्फ जाँदै गरेका ५५ वर्षीय रामलोचन यादवले भने । स्थानीय माझीले चलाएको डुंगाबाट वारपार गर्न प्रतिमोटरसाइकल एक सय र व्यक्तिले ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

पुल अलपत्र हुँदा ९० किलोमिटर फन्को
कमला नदीमा बनाइएको पुल अलपत्र हुँदा उपचारका लागि जनकपुर रेफर गरिएका बिरामीलाई झन् समस्या हुने गरेको छ । प्रादेशिक अस्पताल सिराहाबाट रेफर गरिएका बिरामीहरू ३१ किलोमिटरको दूरीमा रहेको जनकपुर पुग्न चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै करिब ९० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलप्रसाद कुशवाहाले बताए । ‘पूर्वी धनुषाका बिरामीका लागि दूरीको हिसाबले प्रादेशिक अस्पताल नजिक भए पनि जनकपुर जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘सिराहातर्फका बिरामी घुमाउरो बाटो हुँदै लैजाँदा बाटोमै मृत्युसमेत हुने जोखिम हुन्छ ।’

सिराहा सदरमुकामदेखि प्रादेशिक राजधानी जनकपुर पुग्न सामान्य अवस्थामा आधा घण्टा लाग्ने भए पनि कमला नदीको पुल अलपत्र हुँदा समस्या भइरहेको सिराहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादवले बताए । चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टाको लामो यात्रा गर्नुपर्दा अप्ठ्यारो भइरहेको उनको गुनासो छ । ‘राज्यले स्थानीय नागरिकमाथि अत्याचार गरिरहेको छ,’ उनले भने, ‘हरेक बर्खा सकिएपछि पुलको चर्चा सेलाउने, अनि अर्को बर्खामा पुन: दु:ख झेल्नुपर्ने बाध्यता कहिलेसम्म ?’