मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
तश्विर : नारायण रिजाल/नयाँपत्रीका
Invalid date format १४:५३:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

बुकीपाटनका गोठमै छुर्पी र घिउ उत्पादन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

बिहानको पहिलो किरणले गर्पा छेडा र बुकीपाटन क्षेत्रका टाकुराहरू हरियाली र सुनौला देखिन्छन्, गाईभैँसी घोडा, भेडाबाख्रा र भोटेकुकुरको घन्टी टिङटिङ गुन्जिन्छ । चिसो हावासँगैको मौसमले स्वागत गर्दै गर्दा समथर मैदानमा आफ्नै पाराले चरिरहेका घोडा, भेडा, बाख्रा र गाईभैँसीको बथान देख्दा दृश्य झनै रमणीय र आनन्दित हुन्छ ।  

ठाउँठाउँमा गोठ, गोठभित्र आगो बाल्दै गर्दा धुवाँले भरिएको दृश्य नजिकै पुग्दा फलामे भाँडा (कुँडे) भरि दुध उम्लिरहेको हुन्छ । त्यही दुधको माध्यमबाट यहाँका गोठालाले स्थानीय रूपमा नै परम्परागत शैलीमा छुर्पी र घिउ उत्पादन गरेर आम्दानीको स्राे बनाएका छन् । 

यस क्षेत्रका किसानहरूका सातदेखि १० वटासम्म स्थानीय प्रजातिका भैँसी छन् । यहाँ उत्पादन हुने दुधबाट छुर्पी र घिउ उत्पादन गर्दै आएका छन् । ‘मसँग अहिले पाँचवटा भैँसी छन्, तीनवटा लैनो अर्थात् दुध दिने भैँसी हुन्,’ स्थानीय प्रसेन कायतले भने, ‘दुध बिक्रीका लागि ढोरपाटन लैजानुपर्ने हुन्छ, दूरी टाढा छ, त्यही भएर यहीँ आफ्नै शैलीमा छुर्पी र घिउ बनाउँदै बिक्री गर्दै आएको छु यसले पनि राम्रै आम्दानी दिएको छ ।’ उनले घिउ प्रतिमाना एक हजार तीन सय रुपैयाँ माना र एउटा छुर्पीको मुठालाई दुई सय रुपैयाँका दरले बिक्री गरेको बताए । कायतले हालसम्म झन्डै २२ माना घिउ र १५ केजी जति छुर्पी बिक्री गरेको बताए । 

बुकीपाटन घुम्ने पर्यटकको रोजाइमा छुर्पी

स्थानीय रूपमा उत्पादन भएको छुर्पी बुकीपाटन घुम्न आउने पर्यटकको रोजाइको रूपमा पनि भएको कायतको भनाइ छ । बुकीपाटन क्षेत्रका अन्य किसानले पनि यसै गरी छुर्पी र घिउ बनाएर बिक्री गर्दै आएका छन् । कायत भन्छन्, ‘छुर्पी बनाउन परम्परागत शैलीमा दुध उमालेर यसलाई पुनः फटालेपछि मट्ठा छुट्छ, अनि बाँकी बाक्लो अंशलाई कपडामा बेरेर थिच्ने गर्नुपर्छ, यही कच्चा पदार्थ नै छुर्पी बन्छ, जसलाई घाम वा आगोको तापमा सुकाएर कडा बनाउँछौँ  अनि छुर्पी तयार हुन्छ ।’ दुध उत्पादन गरेर दही बनाएर मोही पारेर त्यसलाई फेरि घिउ उत्पादन गर्नुभन्दा छुर्पी उत्पादन गर्न सहज हुने उनको भनाइ छ । 

छुर्पीसँगै यस क्षेत्रका गोठालाहरूले घिउ उत्पादन पनि राम्रै गर्छन् । दिनभरि चरन क्षेत्रमा चरेर आएका भैँसी बेलुका दुध दोएर यसलाई तताई दही बनाएर घिउ उत्पादन गर्ने गरिन्छ । ‘यहाँ आउने पर्यटकले बिहानको मोही पार्ने समयमा नै घिउ पाउन सक्छन् । भैँसी पालेका छौँ, दुध बजार लान सकिँदैन, घिउ बनायो बेच्यो ।’ लेकमा चरेको भैँसीको दुध रसिलो र पोसिलो हुने हुँदा घिउ पनि यहाँ आउने पर्यटकको रोजाइमा परेको  स्थानीय किसान बलबहादुर अदै भन्छन्, ‘दुध, दही र घिउ निकाल्दा हात दुख्छ, तर यो नै हाम्रो नगद आम्दानीको मुख्य स्रोत बनेको छ ।’ बलबहादुरका अनुसार पहिले घिउ उत्पादन गरेर ढोरपाटन बोबाङ हुँदै बुर्तिबाङ बजारसम्म लानुपर्ने थियो, अहिले गोठबाट नै बिक्री हुने गरेको छ । यहाँ सञ्चालन भएको गाठबास (गोठस्टे) ले पनि यहीँको स्थानीय परिकारलाई बढी जोड दिने हुँदा घिउ यहीँ खपत हुने गरेको उनले बताए । 

बुकीपाटनको आकाश बिहानको हरियालीमा चिटिक्क देखिन्छ, दिउँसो हावाले बादल उडाउँदै ल्याउँछ, मौसम कठोर भए पनि यही चिसोपनले यहाँ आउने पर्यटकलाई छुर्पी र घिउको स्वाद अझै गाढा बनाउँछ । ढोरपाटन सिकार आरक्ष हुँदै बुकीपाटन पुग्ने पर्यटकहरूलाई यी स्थानीय परिकारले पनि झनै आकर्षित बनाएको बुकीपाटन पुगेकी आन्तरिक पर्यटक पूर्णिमा लामिछाने बताउँछिन् । 

यहाँ उत्पादन हुने दुधजन्य पदार्थ चरन क्षेत्रमा गाईवस्तुले खाने आहाराको पौष्टिक तत्त्वकै कारण स्वादिलाे हुने भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटा बताउँछन् । यहाँका गाईभैँसीले खाने अन्नभन्दा पनि अर्ग्यानिक घाँसकै कारण दुध र घिउ उत्पादन पनि राम्रै हुने  गर्छ । ‘परम्परागत शैलीमा नै निर्माण गर्ने छुर्पी यहाँको आकर्षण बनेको छ,  दुध बोकेर बजार पठाउने झन्झटभन्दा छुर्पी घिउ  बनाउनतर्फ स्थानीय किसानहरू सक्रिय भएको देखिन्छ । डा. सापकोटाले भने, ‘यसले बुकीपाटन आउने पर्यटकको मन पनि खिचेको छ । किसानको आम्दानीको स्राेत पनि बढेको छ ।’ यहाँ उत्पादन हुने छुर्पीमा गुणस्तरीयताको मापन हुन नसके पनि परम्परागत शैलीमा नै उत्पादन भएको हुनाले राम्रो मानिने उनले बताए ।  विज्ञ केन्द्रको तथ्यांकअनुसार गत वर्ष बागलुङबाट पाँच हजार ६ सय किलो छुर्पी बिक्री भएको छ ।

उकालो–ओरालोको लामो बाटो, उत्पादन भण्डारणको अभाव र ढुवानीको कठिनाइ भएका कारण यहाँ उत्पादन हुने दुध बजारसम्म पुग्न सकेको छैन । त्यसैकारण पनि यहाँका किसानले दुधबाट बन्ने अन्य परिकार बनाएर यहीँ बिक्री–वितरण गर्दै आएका छन् । 

छुर्पी र घिउ बुकीपाटनको खानपान मात्र होइन, पहिचान पनि हो। यो उत्पादन बनाउने क्रममा गोठालाहरू एक–अर्कासँगको सहकार्यले यहाँको सामाजिक जीवनलाई बाँधेर राखेको छ।
फागुनको अन्तिम सातादेखि असोजसम्मको वस्तुभाउको गोठाले बसाइ गाउँ फर्किँदा मात्र टुंगिन्छ, तर यो समय नै बुकीपाटनको ‘स्वर्णिम मौसम’ मानिन्छ जब दुधको बासना, घामको न्यानोपन र गोठको धुवाँ एकसाथ मिसिन्छन्।