
पुनर्स्थापनाको माग अघि सारेर कञ्चनपुरका आरक्षपीडित फेरि अनशनमा बसेका छन्। २२ साउन (बिहीबार)देखि जिल्लाका तीन स्थानमा शुक्लाफाँटा आरक्षपीडित आमरण अनशनमा बसेका हुन्।
जिल्ला मुकाम महेन्द्रनगर कृष्णपुरको वाणी र लालझाडीको ढक्का शिविरमा आरक्षपीडित अनशनमा बसेका छन्। विस्थापित भएको २४ वर्षसम्म पनि सरकारले पुनर्स्थापनाका लागि झुक्याउने काम गरेको भन्दै आरक्षपीडित ‘मृत्यु कि मुक्ति’ भन्दै अनशनमा बसेका हुन्।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले सरकारबाट पटकपटक धोकाधडी भएकाले बाध्य भएर आमरण अनशनमा बसेको बताए। उनले यसअघि गत जेठ काठमाडौंमा १९ दिने आमरण अनशन गर्दा वनमन्त्री ऐनबहादुर शाहीले पुनर्स्थापनाका लागि पहल गर्ने आश्वासन दिएपछि महिना बितिसक्दा पनि पहल नभएकाले बाध्य भएर तीन ठाउँमा अनशनमा बसेको बताए। हालसम्म ३३औँ आयोग गठन हुँदासमेत पीडितको समस्या जस्ताको तस्तै छ।
एक सातादेखि मानव अधिकारकोे प्रत्याभूति र पुनर्स्थापनासहित अनशनमा बसेका आरक्षपीडितको धर्ना स्थगित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। बुधबार अनशनस्थल पुगेका राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका सहसचिव प्रकाशदत्त भट्टले अनशन स्थगित गरेर वार्ता र संवादबाट समस्याको समाधान गर्न सरकारलाई आग्रह गरे।
मौलिक हकअन्तर्गत संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ। त्यस्तै, कानुनबमोजिमबाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट नहटाइने वा अतिक्रमण नगरिने उल्लेख छ। तर, आरक्षपीडितलाई राज्यले सो अधिकार दिलाउन नसकेको भट्टले बताए। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समेत अनशनजस्तो कठिन संघर्ष स्थगित गरेर वार्ताका माध्यमबाट समस्या समधानका लागि आग्रह गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव भट्ट र जिसस प्रमुख बोहराले अनशन तोड्न गरिएको आग्रहमा आरक्षपीडित जयबहादुर रोकायाले पहिलोपटक पीडितका समस्या बुझ्न आयोगका पदाधिकारी आएको भन्दै आभार प्रकट गरे। सरकारले न्याय नदिँदासम्म संघर्षमै बस्ने पीडितले अडान लिएका छन्। रोकायाले पटकपटक सरकारले सहमति गर्दै तोड्दै आएपछि विश्वास नभएकै कारण तीन ठाउँमा आमरण अनशन बसेको बताए। ०५८ सालमा अन्तिमपटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूको हालसम्म पुनर्स्थापना नहुँदा उनीहरू खुला आकाशमुनि बस्न बाध्य छन्।
वैद्य माओवादीले भन्यो– आरक्षपीडितको पुनर्स्थापना गर
यसैबिच मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (वैद्य माअोवादी)ले आन्दोलनरत आरक्षपीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३३ आयोग गठन हुँदा पनि पीडितको समस्या हल नहुनु विडम्बना भएको जनाउँदै पीडितको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी कञ्चनपुरका इन्चार्ज रामबहादुर महरा (चिन्तक) र सचिव विष्णुराम दमाईं (शीतल)द्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा आरक्षपीडितको समस्या समाधान गर्न सरकार जिम्मेवार नदेखिए पार्टीले पीडितकोे हक–अधिकारका लागि संघर्षको चेतावनी दिएको छ।