
सिराहा कारागारमा २१ दिनअघि कैदीबन्दीबिचको झडप घटनापछि कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको छ । कारागारका प्रमुख सुबोधकुमार साहले सुरक्षालाई मध्यनजर गरी कडाइ गरिएको बताए ।
झडपअघि आफन्त वा अन्य व्यक्तिले सुरक्षाकर्मीको अनुमति लिएर रजिस्टरमा नाम टिपोट गरी सामान्य चेकजाँच गराएर भेट्न जान पाउँथे । तर, ४ साउनको घटनापछि हाल कारागार प्रशासनको स्वीकृति लिनुपर्छ । सिराहा कारागारमा भएको झडपमा घाइते १२ जनालाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा स्थानान्तरण गरिएको छ ।
४ साउनमा चौकीदार विजयकुमार महतो र कैलाश ठाकुर समूहबिच झडप भएको थियो । महतोसहित उनका पक्षका शिवकुमार राय, मकेश्वर महतो, जयप्रकाश चौधरी’, बैजु दास, सत्यनारायण कारक, दीपेन्द्रकुमार यादव अहिले जगन्नाथदेवलमा छन् ।
ठाकुर पक्षका दीपक ठाकुर, अञ्जाली कुशवाहा’, रिपेन्द्र झा, सन्तोषकुमार सिंह, जितन साह, विश्वमित्र महतोको पनि स्थानान्तरण गरिएको छ । सिराहा कारागारमा भने चालू आर्थिक वर्ष ०८२/८३ का लागि चौकीदार र नाइके सहनाइके चयनको प्रक्रिया चलिरहेको छ ।