
दीपा दाहालद्वारा लेखिएको कथासंग्रह 'विजयिनी' सार्वजनिक भएको छ। शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमबाबिच कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता विष्ट र लेखक दीपा दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यो कथासंग्रह लेखक दाहालको पहिलो कृति हो।
कार्यक्रममा बोल्दै कवि तथा लेखक कुन्ता शर्माले 'विजयिनी' विचार र शिल्प दुवै कोणबाट उत्कृष्ट कथाहरूको सँगालो भएको बताइन्। उनले दीपा दाहालका कथाहरूमा समाजको दुरुस्त चित्रण भएको बताउँदै दाहालले पहिलो कृतिमै गम्भीर लेखनको अभास दिएको भन्दै प्रशंसा गरिन्। शर्माले 'विजयिनी' का कथाहरूमा विपीका कथाहरूमा जस्तै समाजको सूक्ष्म र रोचक चित्रण गरिएको उनको टिप्पणी छ।
उपप्राध्यापक डा. अस्मिता विष्टले दीपा दाहालका पात्रहरूले विभेद र हिंसाको यथास्थिति अस्वीकार गर्ने विद्रोही भएको बताउँदै लेखकले पुरुष मनोविज्ञान र आदिवासी संस्कृतिसमेत रोचक तरिकाले प्रस्तुत गरेको बताइन्। यो पुस्तक विशेषतः युवा पाठकले नेपाली समाजमा महिलाको अवस्था बुझ्न पढ्नै पर्ने कृति भएको उनले उल्लेख गरिन्। आफ्नी हजुरआमाले सुनाएका कथाले आफूमा लेखकीय भाव जागृत भएको बताउँदै लेखक दीपा दाहालले आफूले कथामार्फत समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताइन्।
कार्यक्रममा आरोहण गुरुकुल विराटनगरका कलाकार प्रदीप दाहालले 'विजयिनी' को दोसल्ला कथावाचन गरेका थिए।