
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको बताएका छन् । बुधबारदेखि भृकृटीमण्डपमा सुरु भएको नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
गुणस्तरीय सडक पूर्वाधारविना अटोमोबाइल क्षेत्रको सही सदुपयोग हुन नसक्ने भन्दै उनले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको बताए ।
कार्यक्रममा नाईमा अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्वमाथि प्रकाश पारिन् । उनले मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष रहेको बताइन् । प्रदर्शनीको पहिलो दिन १५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।
५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको एक्स्पो २५ साउनसम्म चल्नेछ । ४८ वटा स्टल रहेको एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन् ।