Skip This
ओटिसी बजारमा झन्डै तीन अर्बको सेयर कारोबार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ श्रावण २२ बिहीबार o८:१७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

ओटिसी बजारमा झन्डै तीन अर्बको सेयर कारोबार

नेप्सेमा सूचीकृत नभएका ४७ कम्पनीको २० लाख ६९ हजार ६०७ कित्ता सेयर किनबेच

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार o८:१७:oo

आर्थिक वर्ष ०८१/८२ मा ओभर–द–काउन्टर (ओटिसी) बजारमा झन्डै तीन अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका ४७ कम्पनीको कुल २० लाख ६९ हजार ६०७ कित्ता सेयर किनबेच भएको छ । यस अवधिमा ओटिसीबाट भएको कुल कारोबार रकम २ अर्ब ९५ करोड ४३ लाख १३ हजार ६७९ रुपैयाँ ५० पैसा पुगेको नेप्सेको तथ्यांक छ ।

सामान्यत: ओटिसी बजारमा सूचीकृत नभएका कम्पनीका वा संस्थापक समूहका लगानीकर्ताले आपसी सम्झौतामा सेयर कारोबार हुन्छन् । आर्थिक वर्ष ०८०/८१ मा यस्ता ६३ कम्पनीहरूको पाँच अर्ब ११ करोड १२ लाखबराबरको सेयर बाह्य बजारमार्फत (ओटिसी मार्केट)मा किनबेच भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा ४३ कम्पनीहरूले ओटिसीमार्फत दुई अर्ब ८५ करोड ८४ लाख रुपैयाँबराबर सेयर कारोबार गरेका थिए ।

गत आवमा ओटिसी बजारमा सबैभन्दा ठुलो कारोबार प्रोफेसनल एजुकेटर्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १२ लाख १८ हजार ३२४ कित्ता सेयर ४०० रुपैयाँ प्रतिदरमा खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४८ करोड ७३ लाख २९ हजार रुपैयाँ पुगेको देखिन्छ । मेडिकेयर अस्पताल लिमिटेडका १२ लाख ८७ हजार १७८ कित्ता सेयर २०९ रुपैयाँ १९ पैसा प्रतिदरमा बिक्री हुँदा २६ करोड ९२ लाख ३४ हजार ७ सय ६५ रुपैयाँ ८ पैसाबराबरको कारोबार भएको छ । सोपान मल्टिपल कम्पनी लिमिटेडका १४ लाख ९९ हजार १०८ कित्ता सेयर १३५ रुपैयाँ प्रतिकित्ता दरले कुल कारोबार रकम १९ करोड ४८ लाख ८४ हजार ४० रुपैयाँको कारोबार भएको छ ।

सर्वोत्तम स्टिल लिमिटेडको ५ वटा छुट्टाछुट्टै मितिमा गरी लगभग २२ लाख कित्ता सेयर बिक्री भएको देखिन्छ । मूल्यदर प्रतिकित्ता २६२ रुपैयाँ ६७ पैसादेखि २८८ रुपैयाँ ३० पैसासम्मको थियो । त्यस्तै, अन्नपूर्ण केबलकार लिमिटेड, गार्जाङ हाइड्रोपावर लिमिटेड, काठमाडौं मेडिकल कलेज, एभरेष्ट कलर लिमिटेड, हिमालयन ब्रोकेरेज कम्पनी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, फोनेपे पेमेन्ट सर्भिस लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, ट्रेड टावर लिमिटेडको पनि कारोबार भएको छ ।

विगतमा सुस्त देखिएको ओटिसी बजार पछिल्ला समयहरूमा संस्थापक सेयरको हस्तान्तरण, मर्जरपछिको व्यवस्थापन र पारिवारिक लगानी संरचनाको पुन:व्यवस्थापनका कारण सक्रिय हुँदै गएको छ । हालको तथ्यांक हेर्दा प्राइभेट अस्पताल, शैक्षिक संस्था, जलविद्युत्, निर्माण कम्पनी तथा फाइनान्सिङ सेवाप्रदायक संस्थाहरूका सेयरहरू बढी कारोबारमा देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जले ओटिसी कारोबारलाई औपचारिक रूपमा अनलाइन प्रणालीमार्फत सूचीकृत गराउँदै वार्षिक प्रतिवेदनमा समेत समावेश गर्ने व्यवस्था गरेको छ ।

कुन कम्पनीको कति कारोबार ?
नेपाल स्टक एक्सचेन्जअनुसार ओटिसी बजारमा आकास भैरव सेक्योर्ड लिमिटेडले १२ करोड ८८ लाख ७८ हजार  रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, आदर मल्टिइनभेस्टमेन्ट कम्पनीको ७७ लाख १६ हजारको कारोबार भयो भने अल्फा क्यापिटलको ३३ लाख ६५ हजार, अन्नपूर्ण केबलकारको कारोबार ७ करोड ८० लाख ९ हजार, बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युटको ५० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रीजको १७ करोड १९ लाख, सेन्चुरी इनर्जीको ८ लाख ३२ हजार, चम्पावती हाइड्रोपावरको २५ लाख ५० हजार, डियरवल्क ग्रुपको दुई करोड ६० लाख ६२ हजारको कारोबार भएको छ ।

त्यसैगरी एभरेस्ट कलरको कारोबार एक करोड ६० लाख ७० हजार, फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको ४ लाख २० हजार, फोनपे पेमेन्ट सर्भिसको ७ करोड ७९ लाख १३ हजार, गज्र्याङ हाइड्रोपावरको ३ करोड ७७ लाख ७ हजाररुपैयाँको कारोबार भएको छ ।

हाम्रो लगानी कोषले २० लाख ४४ हजार, हिल्टन हाइड्रोपावरले २ करोड २० लाख, हिमालयन ब्रोकर कम्पनीले ५ करोड ७४ लाख ६३ हजार र हिम्बु एग्रो कम्पनीले १ लाख रुपैयाँको कारोबार गरे । त्यस्तै, होटल साब्रिनाले २ करोड ९८ हजार, केबिएनआर इसुवा पावरले १० करोड १६ लाख ८० हजार, कैलाश हेलिकोप्टरले ८ करोड १९ लाख ७५ हजार, कालिञ्चोक हाइड्रोपावर लिमिटेडले ५० लाख, काष्ठमाण्डु फरेस्ट्री कलेजले २० लाख ४४ हजार र काठमाडौं मेडिकल कलेजले १ करोड ६१ लाख ३३ हजार रुपैयाँको कारोबार गरेका छन् । लक्ष्य क्यापिटलले २३ लाख ८७ हजार, लुम्बिनी केबलकारले ५ करोड ८८ लाख ८३ हजार, मेडिकेयर अस्पतालले सबैभन्दा बढी ३८ करोड ५४ लाख ६० हजार, मौलाकाली केबलकारले ४ करोड ७२ लाख ५० हजार  रुपैयाँको कारोबार गर्दा मुक्तिनाथ क्यापिटलले ११ लाख २० हजार रुपैयाँको कारोबार गरेको छ ।

त्यस्तै, नेपाल पोलिटेक्निक इन्स्टिच्युटको ५ लाख ५८ हजार, एनआइसी एसिया क्यापिटलको ४ करोड ५० लाख, प्रभु क्यापिटलको ३ करोड १९ लाख २७ हजार, प्रोफेसनल एजुकेटर्सको ४८ करोड ७३ लाख २९ हजार, सागर डिस्टिलरीको १४ करोड ३४ लाख २५ हजार र सम्पन्न क्यापिटल एन्ड एडभाइजरीको १० लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।

यसका साथै सानिमा हाइड्रोपावरले ८ करोड ८७ लाख ४ हजार रुपैयाँको कारोबार गरेको छ भने सर्वोत्तम स्टिलले २७ करोड ८१ लाख ९३ हजार, सिएन सिड सर्भिस सेन्टर लिमिटेडले १२ लाख ६ हजार, सिड इनर्जीले ५ करोड ३३ लाख ४४ हजार, सिद्धार्थ क्यापिटलले ४ लाख ६४ हजार,  सिंगा गोरखा इन्भेस्टमेन्टले ७४ लाख र स्काइलाइन इन्फ्रा प्रालिले १२ करोड ४८ लाख ७५ हजार रुपैयाँको कारोबार गरेको छ ।