
दक्षिण अफ्रिकन क्रिकेटर एबी डी भिलियर्सले नेपाली क्रिकेट टोली राम्रो भएको बताउँदै प्रशंसा गरेका छन् । भारतीय पत्रकार शुभांकर मिश्रले भिलियर्ससँग लिएको एक अन्तर्वार्तामा उनले सन् २०२४ को आइसिसी टी–२० विश्वकपको प्रसंग उठाउँदै नेपाली टोली अद्भुत रहेको बताएका छन् । ‘नेपाली क्रिकेट टोली निकै राम्रो छ,’ उनले भने, ‘अझ उनीहरूको टिम स्पिरिट अद्भुत रहेको पाएको छु ।’
गत वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा दक्षिण अफ्रिकी टोलीबाट उनले प्रतिस्पर्धा गरेका थिएनन् । समूह चरणमा नेपाल र दक्षिण अफ्रिकाबिच खेल भएको थियो । जसमा नेपाल १ रनले दक्षिण अफ्रिकामाथि सनसनी जित निकाल्न चुक्यो । ‘नेपाल एक अद्भुत टोली हुन् । उनीहरू क्रिकेटमा धेरै अगाडि आइसकेका छन् । एसोसिएटमा नेपाल धेरै खतरनाक क्रिकेट टोली हो ।’
पत्रकार मिश्रले भिलियर्ससँग नेपालको क्रिकेट विकासका लागि के गर्नुपर्छ भनेर प्रश्न राखेका थिए । भिलियर्सले भने, ‘मेरो व्यक्तिगत विचारमा नेपाली क्रिकेटरले मुख्य गरी एकनासको प्रदर्शन गर्नुपर्छ । एक मात्र तरिका अझ बढी क्रिकेट खेल्नु हो ।’ उनले नेपाली क्रिकेट तथा खेलाडीलाई एक्सपोजर दिन पनि विश्व क्रिकेटलाई आह्वान गरेका छन् । ‘उनीहरूलाई थप अवसर प्रदान गर्नुपर्छ । विश्वभरका क्रिकेट आयोजकलाई नेपाललाई एक्सपोजर प्रदान गर्न आह्वान गर्छु,’ भिलियर्सले भने, ‘नेपाल जस्ता देश र टोलीहरूलाई थप क्रिकेट खेल्न अवसर दिनुपर्छ ।’
व्यक्तिगत कारण एनपिएलमा आउन सकेनन् भिलियर्स
अन्तर्वार्ताका क्रममा गत मंसिर र पुसमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा व्यक्तिगत कारण आफू नेपाल आउने नसकेको भिलियर्सले खुलाएका छन् । एनपिएल आयोजक क्यानले प्रतियोगितामा सहभागी हुन पत्र पठाएको उनको भनाइ छ । ‘गत मंसिरमा भएको एनपिएलमा खेल्नका लागि पत्र आएको थियो, तर त्यसवेला मेरो तालिका व्यस्त थियो ।
यसकारण एनपिएल लिगमा सहभागिता जनाउन सकिनँ,’ उनले भने, ‘भविष्यमा नेपालमा खेल्नेमा आशावादी छु ।’ उनले पछिल्लो समयमा छोटा प्रतियोगिता खेलिरहेको बताए । ‘अहिले बेलायतमा परिवारसहित छु । भविष्यमा एनपिएल खेल्ने सम्भावना छ,’ उनले भने । भिलियर्सले नेपाली टोलीले विगत केही वर्षमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । ‘यदि अन्तर्राष्ट्रिय डेटा हेरौँ भने नेपालले धेरै राम्रो गरिरहेको छ । उनीहरूले योभन्दा बढी अन्तर्राष्ट्रिय अवसर पाउनुपर्छ । जसले नेपाल थप सशक्त हुनेछ,’ उनले भने ।
४७ अन्तर्राष्ट्रिय शतक
पछिल्लो पुस्ताका क्रिकेटरमध्ये आक्रामक ब्याट्सम्यानका रूपमा चिनिने भिलियर्सले दक्षिण अफ्रिकाकाट ११४ टेस्टमा आठ हजार ७६५ रन बनाएका छन् । उनले यस क्रममा २२ शतक तथा ४६ अर्धशतकीय इनिङ्स खेले । यसैगरी, २२८ एकदिवसीय खेलमा उनले २५ शतक तथा ५३ अर्धशतकको सहयोगमा नौ हजार ५७७ रन जोडेका छन् । अन्तर्राष्ट्रिय टी–२० आईमा ७८ खेलमा १० अर्धशतकको सहयोगमा एक हजार ६७२ रन जोडेका छन् । समग्रमा उनले ४७ अन्तर्राष्ट्रिय शतक बनाएका छन् । भिलियर्सले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । टी–२० आईमा उनले अस्ट्रेलियाविरुद्ध पहिलो खेल खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका भिलियर्सको अन्तिम खेल सन् २०१८ मा भारतसँग एकदिवसीय खेल रह्यो ।