मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
अजित अधिकारी काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार १७:५o:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमद्वारा चितवनमा सबैभन्दा ठुलो डिपो निर्माण सुरु

९१ हजार ९ सय किलोलिटरको भण्डारण गृह र अमलेखगञ्जदेखी लोथलरसम्म ६२ किलोमिटर लामो पाइपलाइन बन्ने

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १७:५o:oo

नेपाल आयल निगमले चितवनको लोथरमा ९१ हजार नाै सय किलोलिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण सुविधासहितको हालसम्मकै सबैभन्दा ठुलो डिपो निर्माण सुरु गरेको छ।

शुक्रबार दिउँसो लोथरस्थित २३ बिघा १२ कट्ठा जमिनमा कार्यालय उद्घाटन गरेर डिपो निर्माण सुरुवात गरिएको परियोजना संयोजक प्रदीप यादवले जानकारी दिए। ‘यहाँ हालसम्मकै सबैभन्दा ठुलो ग्रिनफिल्ट टर्मिनल बन्नेछ,’ उनले भने, ‘डिपोसम्म तेल ल्याउनका लागि अमलेखगन्जबाट पाइपलाइनसमेत विस्तार हुनेछ।’

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा १८ जेठ ०८० मा समकक्षी नरेन्द्र मोदीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारणगृहसहितको आधुनिक सुविधासम्पन्न डिपो निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

उक्त समझदारी भएको ६ महिनाभित्र दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले ‘बिटुबी’ सम्झौता गरी निर्माण कार्य थाल्नुपर्ने सर्त भए पनि डेढ वर्षपछि १७ असोज ०८१ मा मात्रै इन्डियन आयल कर्पोरेसन (आइओसी) र आयल निगमबिच ‘बिटुबी’ सम्झौता भएको थियो। दुवै कम्पनीबिच बिटुबी भएको एक वर्ष बित्न लाग्दा मात्रै निर्माण कार्य सुरु भएको हो।

परियोजना संयोजक यादवले निर्माण सुरु भएको ५४ महिनामा काम सक्नुपर्ने सम्झौता भएकाले तोकिएको समयभित्रै निर्माण सक्ने योजना रहेको बताए। यादवका अनुसार आइओसीले पाइपलाइन र भण्डारणगृह निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी हस्तान्तरणसमेत गरिसकेको छ।

लोथरस्थित डिपो निर्माणस्थल

दुवै देशको प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार ६२ किलोमिटर दूरीको अमलेखगन्ज–लोथर पाइपलाइनको लागत आइओसीले व्यहोर्नेछ भने भण्डारणगृहसहितको डिपो निर्माणको खर्च निगमले व्यहोर्ने सर्त छ। आइओसीको डिपिआरअनुसार अमलेखगन्ज–लोथर पाइपलाइन निर्माणका लागि २६८ करोड भारु (चार अर्ब २८ करोड ८० लाख रुपैयाँ) लागत अनुमान गरिएको छ।

त्यस्तै, लोथरमा निर्माण हुने भण्डारणगृहसहितको ग्रिनफिल्ट टर्मिनलका लागि ६१३ करोड भारु (नाै अर्ब ८० करोड ८० लाख रुपैयाँ) लागत अनुमान तयार गरिएको छ। पाइपलाइन र भण्डारणगृहसहितको संरचना निर्माणका लागि कुल ८८१ करोड भारु (१४ अर्ब ९ करोड ६० लाख रुपैयाँ) लागत अनुमान तयार गरिएको निगमले जनाएको छ।

भण्डारणगृहसहितको टर्मिनल निर्माणको लागत निगमले आइओसीलाई दिने र आइओसीले आफ्नै प्रक्रियाबाट डिपो निर्माण गरिदिने ‘जिटुजी’ सम्झौता भएको छ।

६२ किलोमिटर लामो पाइपलाइन बन्ने
निगमका अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन रुटबाटै लोथरसम्म पाइप बिछ्याइनेछ। मोतीहारीमै रहेको आइओसीको पम्प हाउसबाटै लोथरसम्मको पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था रहनेछ। अमलेखगन्जदेखि लोथरसम्म पूर्वपश्चिम राजमार्ग हुँदै ६२ किलोमिटर पाइपलाइन बिछ्याइने र सो पाइपलाइनको ब्यास १०.७५ इन्चको हुने निगमले जनाएको छ।

‘पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा पेट्रोलियम पदार्थ ढुवानी हुनेछ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै वेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन स्टोरेज भइरहनेछ।’ वार्षिक २० लाख टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइपलाइन जडान हुने निगमले जनाएको छ। लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ।

९१ हजार नाै सय किलोलिटरको भण्डारणगृह बन्ने
चितवनमा हालसम्मकै सबैभन्दा ठुलो ९१ हजार नाै सय किलोलिटर क्षमताको भण्डारणगृह बन्ने गरी परियोजना अघि बढाइएको संयोजक यादवले जानकारी दिए। उनका अनुसार पेट्रोल ३३ हजार, डिजेल ४६ हजार पाँच सय, मट्टीतेल एक हजार ६ सय र हवाई इन्धन १० हजार ८ सय किलोलिटर भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक बन्नेछन्।

‘पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताको तीनवटा, डिजेलका लागि १५ हजार पाँच सय किलोलिटरको तीनवटा, मट्टीतेलका लागि आठ सय किलोलिटरको दुईवटा र हवाई इन्धनका लागि तीन हजार ६ सय किलोलिटरको तीनवटा स्टोरेज ट्यांक बन्नेछ,’ निगमले विज्ञप्तिमार्फत भनेको छ।

यसबाहेक २५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्यांकसमेत निर्माण गरिनेछ। ट्रान्समिक्स ट्यांकमा एउटै पाइपलाइनमा आएको दुईथरी पेट्रोलियमको मिश्रणलाई राखेर पछि शुद्धीकरण गरिन्छ। त्यस्तै, पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको समान ५० किलोलिटर क्षमताको चारवटा अन्डरग्राउन्ड रिजर्भ ट्यांकीसमेत निर्माण गरिने बताइएको छ।