
भक्तपुर- १, दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा मिर्गौलाकाे डायलाइसिस सेवा शुभारम्भ भएको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि अत्यावश्यक यो डायलाइसिस सेवाकाे बुधबार बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले खरिद गरी पाँच थान डायलाइसिस मेसिन भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा विभागले सूचीकृत गरी अनुमति दिएसँगै डायलाइसिस सेवा सुरु गरिएको भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताएका छन् ।
दैनिक तीन सिफ्टसम्म सेवा सञ्चालन गरी एकै दिन ४५ जना मिर्गौला फेल भएका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गर्न सकिने निमित्त निर्देशक डा. भट्टको भनाइ छ ।
भक्तपुर अस्पतालकै परिसरभित्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भए तापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रले डायलाइसिसको समय नदिएपछि दैनिक दर्जनौँ बिरामी निजी क्लिनिकमा डायलाइसिस गराउन बाध्य छन् ।
निजीमा एकपटक डायलाइसिसको सामान्य शुल्क दुई हजार पाँच सयदेखि पाँच हजार पाँच सयसम्म पर्ने गर्दछ । महिनामा औसत १० देखि १२ पटकसम्म डायलाइसिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा मासिक खर्च औसत ५० हजारसम्म हुने गर्दछ ।
भक्तपुर अस्पतालमा भने डायलाइसिस सेवा नि:शुल्क हुने बागमती प्रदेश सभाका पूर्वसदस्यसमेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शशिजंग थापाले बताए ।
मिर्गौलाले काम नगर्ने बिरामीले हप्तामा दुईपटकसम्म डायलाइसिस नि:शुल्क गर्न पाउने र औषधि तथा किटको खर्चसमेत सरकारले व्यहोर्ने व्यवस्था भएकाले भक्तपुर अस्पतालले शुल्क नलिने बताइएको छ । वीर अस्पतालपछिको दोस्रो जेठो यो अस्पताल बागमती प्रदेश सरकारमातहत आएपछि प्रगति गरिरहेको अस्पताल हो ।
पछिल्लो समय यो अस्पतालको प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको अस्पतालकी पूर्वनिर्देशकसमेत रहेकी बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले बताएकी छिन् ।
‘न्यूनतम सेवा मापदण्डअनुसार बी ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्नलायक अस्पतालको रूपमा विकास भइरहेको छ,’ उनले भनिन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले आफू भक्तपुरकै सांसद भएकाले पनि यसको प्रगति देख्दा खुसी लाग्ने बताए ।
प्रदेश सरकारले अस्पताल भवनका लागि यो वर्ष तीन करोड विनियोजन गरेको र त्यसलाई बहुवर्षे योजनाका रूपमा अघि बढाइने उनले बताएका छन् । त्यति मात्र होइन, आफूले व्यक्तिगत रूपमै पनि भवन निर्माणमा सहयोग गर्न सक्ने निजी र गैरसरकारी क्षेत्रका सम्भावित दाताहरू खोजिरहेकोसमेत उनले खुलासा गरे ।
‘भक्तपुर अस्पतालसँग केही वर्षमै बहुतले सुविधासम्पन्न भवन हुनेछ, जसले सेवा प्रवाह थप प्रभावकारी बन्ने निश्चित छ,’ मन्त्री थापामगरले भने । उनले बागमती प्रदेश सरकारमातहत रहेका सय शय्या र सोभन्दा बढी क्षमताका अस्पतालहरूको आफ्नै नर्सिङ शिक्षालय बनाउने प्रक्रिया अघि बढाइएको पनि बताएका छन् ।
उद्घाटन समारोहमा प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख नरेन्द्रकुमार झा, स्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्का, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका प्रमुख डा. नरेन्द्रप्रसाद गिरी, अस्पताल विकास समितिका पूर्वअध्यक्ष रमण कायस्थलगायतको उपस्थिति रहेकाे थियो ।