
नेपाली महिला फुटबल टोलीले आइतबार लाओसँग प्रतिस्पर्धा गर्दै छ । एसियन महिला छनोटमा लाओसविरुद्धको प्रतिस्पर्धा महिला खेलाडीका लागि विशेष रहनेछ । यो खेल आधिकारिक रूपमा नेपाली महिला फुटबल टोलीको एक सय अन्तर्राष्ट्रिय खेलको कोसेढुंगाका रूपमा दर्ता हुनेछ । आफ्नो ऐतिहासिक खेलमा जित निकाल्न नेपाल आतुर छ । तथ्यांकअनुसार लाओस नेपालको २७औँ प्रतिद्वन्द्वी हो । यसअघि नेपालले विभिन्न २६ राष्ट्रसँग प्रतिस्पर्धा गरिसकेको छ ।
अन्तर्राष्ट्रिय फुटबलकै नयाँ प्रतिद्वन्द्वी लाओस नेपालभन्दा फिफा वरीयतामा तल्लो स्थानमा छ । तर, नेपालले वरीयताका आधारमा नभएर ऐतिहासिक जित निकाल्ने तत्परताका साथ प्रतिस्पर्धा गर्नेछ । उज्वेकिस्तानमा रहेको नेपाली टोलीले लाओससँगको प्रतिस्पर्धालाई विशेष बनाउन विदेशी प्रशिक्षक प्याट्रिक डे दुई सातादेखि कडा मिहिनेत गरिरहेका छन् ।
नेपालले ९९ अन्तर्राष्ट्रिय खेल प्रो लाइसेन्सविना नै प्रतिस्पर्धा गरेको थियो । एएफसी र फिफाले कुनै पनि राष्ट्रिय टोली सम्हाल्न प्रो लाइसेन्स अनिवार्य बनाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक प्रो लाइसेन्सधारीलाई टोलीको जिम्मेवारी दिएको हो ।
सन् १९८६ मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको थियो । एएफसी महिला च्याम्पियनसिपमा नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रियय खेल हङकङविरुद्ध थियो । रमा सिंहको कप्तानीमा नेपालले हङकङसँगको प्रतिस्पर्धा झिनो १–० ले गुमाएको थियो । त्यसयता नेपालले ४६ जित, १६ ड्र र ३६ हारको नतिजा निकालेको छ । अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेको ३९ वर्षको यात्रा चानचुने होइन । तर दुभाग्र्यवश, लगभग चार दशकको यात्रामा नेपाल उपाधिविहीन छ । दक्षिण एसियाली राष्ट्रमा कीर्तिमानी रूपमा अहिलेसम्म १३ अन्तर्राष्ट्रिय फाइनल खेल्दा पनि नेपालले एकपटक पनि विपक्षीलाई पाखा लगाउन सकेको छैन । धेरैजसो फाइनलमा नेपाल भारतसँग पराजित भएको अवस्था छ ।
पहिलो गोल पेमाको नाममा र सर्वाधिकमा सावित्राको कीर्तिमान
सन् १९८० मा राष्ट्रिय टोली बन्यो । तर, नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाउन ६ वर्ष प्रतीक्षा गर्यो । एसिया कप च्याम्पियनसिप छनोट खेल्न एन्फाले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गराउने निधो गर्यो । त्यसवेला बागमती, गण्डकी र नारायणीबिच मात्र घरेलु महिला फुटबल हुन्थ्यो । तत्कालीन एन्फाका अध्यक्ष कमल थापाले यसै तीन टोलीका खेलाडी मिलाएर हङकङविरुद्ध खेल्न पठाएका थिए । त्यसवेला बागमतीकी रमा सिंहलाई नै नेपाली टोलीको नेतृत्व जिम्मेवारी दिइएको थियो । रमा सिंहपछि अहिलेसम्म १० जनाले टोलीको कप्तानी गर्ने अवसर पाएका छन् । वर्तमान समयमा अन्जिलाले गोलरक्षकको समेत भूमिका निर्वाह गरेकी छिन् । उनी महिला फुटबल टोलीमा सर्वाधिक कप्तानी गर्ने खेलाडीमा पर्छिन् । अन्तर्राष्ट्रिय डेब्यु गरेको १३ वर्ष मात्र नेपालले विपक्षीको पोस्टमा गोल गर्यो । नेपाली महिला फुटबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पेमा डोल्मा लामा हुन् । उनले सन् १९९९ को एएफसी महिला च्याम्पियनसिपमा उज्वेकिस्तानविरुद्ध गोल गरेकी थिइन् । स्ट्राइकर सावित्रा भण्डारीका नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोल छ । उनले ५८ खेलमा ५७ गोल गरेकी छिन् । उनले अनु लामाको रेकर्ड तोडेकी थिइन् । अनुले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा ३५औँ अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् ।
सहभागी नै भएन एक दशक अन्तर्राष्ट्रिय खेलमा
सन् १९८६ मा नेपालले पहिलोपटक एएफसी महिला एसियन कपमा सहभागिता जनाएको थियो । आधिकारिक रूपमा नेपालले एएफसीले आयोजना गर्ने च्याम्पियनसिपको मुख्य प्रतियोगितामा छनोट भएको त्यही नै थियो । हङकङमा भएको एसियन कपमा नेपालले तीन खेलमा १२ गोल खाएको थियो । सन् १९८९ को संस्करणमा नेपाल समूह चरणबाटै बाहिरियो । यसपटक नेपालको पोस्टमा विपक्षीले २५ गोल गरेको थियो । एसियन कपमा लगातार खराब नतिजा व्यहोरेपछि तत्काल एन्फाले सात वर्ष टोलीलाई सहभागी नै गराएन । सन् १९९९ मा एकैपटक नेपालले एसियन कप खेल्यो । यसै प्रतियोगितामा नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गर्यो । यद्यपि, विपक्षीहरूले नेपालको पोस्टमा २९ गोल गरेका थिए ।
सन् १९९१ देखि १९९७ सम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको नेपालले पुनरागमनमा गतिलो नतिजा निकाल्न सकेन । अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सहभागी हुँदा आर्थिक भार हुने र खराब नतिजा व्यहोर्ने भएकाले एन्फाले सन् १९९९ देखि २००९ सम्म कुनै पनि अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सहभागी नै गराएन । सन् २०१० मा नेपाली टोलीमा व्यापक परिवर्तन भयो । एक किसिमले टोलीको पुनर्संरचना भएको थियो । ११ वर्षपछि नेपालले सन् २०१० को दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लियो ।
बंगलादेशको ढाकामा भएको प्रतियोतिगामा नेपालले उत्कृष्ट प्रदर्शन गरी फाइनल स्थान सुरक्षित गर्यो । तर, फाइनलमा नेपालले भारतसँग पराजित हुँदै रजत पदक हात पार्यो । फिफा महिला विश्वकप प्रतियोगितामा नेपालले खासै छनोट खेल खेलेन । सन् १९९१ देखि १९९९ सम्म एन्फाले प्रतियोगिताको छनोट खेलमै सहभागी गराएन । सन् २००३ मा नेपालले छनोट चरणबाट नाम फिर्ता लिएको थियो । सन् २००७ देखि २०१९ सम्मको महिला विश्वकपमा पनि नेपालले छनोट खेलेन । सन् २०२३ को फिफा विश्वकप एसियन छनोटबाट नेपाली महिला टोली बाहिरिएको थियो ।
१२ राष्ट्रसँग अपराजित
चार दशकको अन्तर्राष्ट्रिय यात्रामा नेपालले २६ राष्ट्रसँग प्रतिस्पर्धा गर्यो । जसमध्ये नेपाल १२ राष्ट्रसँग अपराजित छ । अफगानिस्तान, कतार, श्रीलंका, इरान, इराक, कुवेत, किर्गिस्तान, लेबनान, प्यालेस्टाइन, ताजकिस्तान, पाकिस्तान र सिरियासँगको प्रतिस्पर्धामा नेपालले खेल गुमाएको छ । नेपाल यी १२ राष्ट्रसँग अपराजित नै छन् । नेपालले धेरैपटक श्रीलंकालाई हराएको छ । श्रीलंकालाई आठ अन्तर्राष्ट्रिय खेलमा नेपालले पराजित गरेको छ । अफगानिस्तान, कतार, किर्गिस्तान र लेबनानविरुद्धको सामान दुई खेलमा नेपाल विजयी भएको छ । कुवेत, इरान, इराक, ताजकिस्तान र सिरियाविरुद्ध समान एक खेलमा नेपालले जित निकालेको छ । दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई चार खेलमा पाखा लगाएको रेकर्ड छ ।