१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १३ शुक्रबार o९:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संघीय लोकतान्त्रिक मोर्चाको बैठक रुपन्देही ३ मा साझा उम्मेदवारबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार o९:२७:oo

राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि रुपन्देही ३ मा हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्न छलफल थालेको छ । तराई मधेशकेन्द्रित दलसम्बद्ध मोर्चाको बिहीबार बसेको बैठकले आइतबार यसबारे थप छलफल गरेर टुंगोमा पुग्ने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बिहीबार मोर्चाको बैठक बोलाएका थिए । 

‘आसन्न उपनिर्वाचनमा मोर्चाका तर्फबाट साझा उम्मेदवार दिनुपर्छ भन्नेमा सबै नेताको जोड छ । पार्टीहरूले दाबी प्रस्तुत गर्नु पनि स्वाभाविकै हो । आफ्नो पार्टीमा छलफल गरेर आइतबार मोर्चामा थप छलफल गरौँ भन्ने सहमति भएको छ,’ राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले भने । उक्त क्षेत्रमा लोसपा, जसपा नेपाल र जनमत पार्टीले साझा उम्मेदवार दाबी गरेका छन् । 

बिहीबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेताहरू राजकिशोर यादव, मनीष सुमन र रामकुमार शर्मा थिए । नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, लालवीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो एवं नेताहरू केशव झा, सिएन थारू, लोसपाका अध्यक्ष महन्थ ठाकुर एवं नेताहरू सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा थिए । जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट अध्यक्ष हृदयेश त्रिपाठी तथा नेताहरू शिवजी यादव, सबिर हुसेन एवं तमलोपाबाट अध्यक्ष वृषेशचन्द्र लाल र नेता ब्रजकिशोर सिंह सहभागी थिए । नेता झाका अनुसार बैठकमा रुपन्देही ३ को उपनिर्वाचनमा साझा उम्मेदवार, सातै प्रदेशमा मोर्चाको भावी कार्यक्रम, मोर्चाको आन्तरिक कार्यविधिको पूर्णता तथा राजबन्दी रिहाइ एवं लाल आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो । ‘एजेन्डाहरूमा आइतबार अर्को बैठकबाट निर्णय गर्ने गरी बैठक स्थगित भयो,’ उनले भने ।