
मुगुमा बालविवाहको अवस्था ३५ दशमलव ९ प्रतिशत रहेको छ । एक सर्वेक्षणअनुसार मुगुमा बालविवाहको अवस्था ३५.९ प्रतिशत रहेको समता फाउन्डेसनका अध्यक्ष डाक्टर मदनप्रसाद परियारले जानकारी गराए।
राइट हियर राइट नाउका अनुसार कर्णालीमा बिबाहको औसत उमेर पुरुष २० वर्ष र महिला १७.३ वर्ष रहेको उनको भनाइ छ। उनले बालविवाह न्यूनीकरण गरेर उन्मूलन गर्न आजको आवश्यकता रहेको बताए। आफ्नो फाउन्डेसन र आफू कर्णाली प्रदेशका १० वटै जिल्लामा यही अभियान लिएर हिँडेको उनी बताउँछन् । उनका अनुसार यौन तथा प्रजनन स्वास्थ अधिकार र बालविवाहका सवालमा सम्बन्धित रहेर आफू र समता फाउन्डेसन १० वर्षदेखि यहीँ अभियानमा छौँ।
कानुनमा विवाह गर्ने उमेर २० वर्ष राखिए पनि कर्णालीमा १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७.९ प्रतिशत रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको अध्यक्ष परियारले बताए । मुख्य गरेर दलित समुदाय, पिछडा वर्ग सीमान्तकृत समुदाय सबैभन्दा धेरै रहेको तथ्यांकमा छ। कर्णालीमा किशोरावस्थामा गर्भवती हुने र जीवित बच्चा जन्माउने राष्ट्रिय औसत १७ प्रतिशतको तुलनामा भने १९ प्रतिशत रहेको छ।
औसत रूपमा एक महिलाले आफ्नो जीवन कालको लगभग १० वर्ष छाउ गोठमा बिताउँछ्न् । महिला सुत्केरी अवस्था र महिनावारीको समयमा अशुद्ध मानिने चलनले महिलाको प्रजनन अधिकारलाई समेत हनन गरेको मानिन्छ। सरकारले २०३० सम्म बालविवाह उन्मूलन गर्ने लक्ष्य राखेको छ।
तथ्यांकमा हाम्रो जिल्लाको बालविवाहको अवस्था ३५.९ प्रतिशत देखिए पनि ५० प्रतिशतभन्दा कम नरहेको जिल्ला अस्पताल मुगुका सूचना अधिकारी सिनियर अहेव प्रशुराम नेपालीले जनाए।
अस्पतालमा आउने गर्भवती चेकजाँच र अस्पतालमा हुने सुत्केरीको अवस्था हेर्दा मुगुमा बालविवाहको दर बढी नै रहेको उनको भनाइ छ। बालविवाह गर्दा स्वास्थ्यमा समस्या हुने, अपरिपक्व, कुपोशित बच्चा जन्मिने, पछि गएर महिलामा आङ खस्ने समस्या बड्ने, अन्य यौन रोगको शिकार बन्नुपर्ने र सम्बन्धविच्छेदका घटना हरु बड्ने नेपालीले बताए ।
पछिल्लो समय जिल्लामा किशोरी आमाहरूको संख्या ह्वात्तै बढेको छ। यसरी हेर्दा स्वास्थ संस्था, प्रसूती गृह अस्पतालमा सुत्केरी हुन आउने महिला किशोरीको संख्या धेरै हुने गरेको स्वास्थ्यकर्मी बताउँछ्न्। अधिकजसो १६- १७ वर्षमै बिहे गर्ने २० वर्ष नपुग्दै बच्चा जन्माउने अनि बच्चा जन्मिसकेपछि मात्रै विवाह दर्ता प्रमाणपत्र बनाउने चलन रहेको स्थानीय सरोकारवाला बताउँछ्न्।
आर्थिक वर्ष ०८०/८१ मा जिल्ला अस्पताल मुगुमा २५६ जना महिलाले बच्चा जन्माए, त्यसमध्ये ७४ जना २० वर्षमुनिका किशोरी रहेका छ्न्। मुगुलगायत समग्र कर्णाली प्रदेशमै यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहसम्बन्धी काम गर्ने दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालय रहे पनि बालविवाहको यकिन तथ्यांक अझै निक्लिन सकेको छैन। तिनै तहका सरकार, संघसंस्था, अन्य सरोकार वाला निकाय र सम्पूर्ण नागरिकले बालविवाहको विषयलाई एउटा बहसको विषय बनाउनुपर्ने देखिन्छ।