१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका रुपन्देही
२o८२ असार १२ बिहीबार १४:३७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १४:३७:oo

समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकासे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया धानखेती राम्रो हुने जिल्लाको रूपमा मानिन्छन् । असार दोस्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन ।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कुल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यसमध्ये तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर, अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ ६ हजार ५२५ हेक्टरमध्ये पाँच हजार ३१८ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

यस्तै, रोल्पामा चार हजार ५४७ हेक्टरमध्ये एक हजार ८२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४० प्रतिशत धान रोपाइँ सकिएको छ। २० हजार चार सय हेक्टरमध्ये आठ हजार १९२ हेक्टरमा धान रोपाइँ सकिएको छ । रुकुम पूर्वमा ३५४ हेक्टरमध्ये १०६, पाल्पामा आठ हजार २१० मध्ये ४११ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै, रुपन्देहीमा ६० हजार ५६७ मध्ये ६ हजार ५८, कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टरमध्ये ५२७ हेक्टर अर्थात् एक प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्यांकले देखाउँछ । दाङमा ३७ हजार २२५ मध्ये एक हजार ४८९ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी बाँकेमा गएको शुक्रबारसम्म रोपाइँ नै सुरु हुन सकेको छैन । बाँकेमा ३४ हजार ७११ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । बर्दियामा ५० हजार १५० हेक्टरमध्ये चार हजार २६३ हेक्टर, गुल्मीमा सात हजार ५३९ मध्ये ३९१ र अर्घाखाँचीमा ६ हजार ७६० हेक्टरमध्ये ६७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

सबैभन्दा बढी धान रोपाइँ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ र बाँकेजस्ता जिल्लामा अझै पनि अधिकांश खेतहरू बाझै रहेका छन् । लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन पाँच लाख ३९ हजार ४४३ हेक्टर रहे पनि धानखेती तीन लाख ११ हजार हेक्टरमा हुने गरेको छ । सरदर ११ लाख ८५ हजार ४९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा दुई लाख ७६ हजार ८१९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रूपमा रहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङ्जा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ । अहिले कार्यालयमै मलको अभाव रहेको त्यहाँका निमित्त कार्यालय प्रमुख सुमन पन्थी बताउँछन् । केही ट्रक वीरगन्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।

कृषि सामग्री कम्पनी भैरहवाको लागि चालू आर्थिक वर्षमा ५६ हजार ५६.४५ मेट्रिक टन युरिया र ३९ हजार ९२३.४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हाल सम्म ४७ हजार ८०७.७ मेट्रिक टन युरिया र ३१ हजार १९९.४ मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ । कम्पनीको गोदाममा १० गतेसम्म लुम्बिनी प्रदेशका लागि एक हजार ९८३.२ मेट्रिक टन युरिया र दुई हजार २४३.३ मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिए ।