
दोरम्बा सैलुङ गाउँपालिका– ३ टोकरपुरका सिगार्चे खोलामा पुल नहुँदा वर्षातको समयमा विद्यालयमा पढ्न जाने बालबालिकालाई असहज भएपछि सोही वडाका निवर्तमान वडाध्यक्ष लालबदन मगरले काठेपुल निर्माण गरिदिएका छन् ।
यसअघि वडा कार्यालयले उक्त खोलामा ह्युमपाइप राखी पानी कटाएर आवतजावत सहज बनाएको थियो । गत वर्ष असोज १२ गते आएको सिगार्चे खोलाको बाढीले उक्त ह्युमपाइप बगाएर एक छेउमा पुर्याएर अर्कोतर्फबाट खोला बगेर सडक बिगारेपछि स्थानीयले उक्त ह्युमपाइप निकालेका थिए ।
ह्युमपाइप निकालेपछि अहिले वर्षामा खोला वारपार गर्न समस्या भएपछि त्यस स्थानमा काठेपुल निर्माण गरेसँगै समस्या हटेको निर्वतमान वडाध्यक्ष मगरले जानकारी दिए । उनले भने– स्थानीय गाउँले मिलेर गाउँमै उपलब्ध काठ प्रयोग गरेर खोलामा पुल त हाल्यौँ । तर, ठुलो पानी पर्दा बगाउँछ कि भन्ने चिन्ता लाग्छ । रातको समयमा पनि खोलामा पुगेर पुल हेरेर फर्कने गर्छु । जे होस्, अहिलेसम्मको खोलामा आएको पानीले बगाएको छैन । पुल भएपछि गाउँका सबै नागरिकलाई सहज भएको छ ।
खोलामा पुल नभएपछि कण्ठेश्वर माध्यमिक विद्यालय थामचौर र ड्रिमल्यान्ड मन्टेसरी बोर्डिङ स्कुलमा अध्ययन गर्न जाने बालबालिकाहरू जोखिम मोलेर आवतजावत गर्न थालेपछि निवर्तमान वडाध्यक्षको पहलमा स्थानीय गाउँले मिलेर सिगार्चे खोलामा काठको पुल निर्माण गरेका हुन् । काठेपुल निर्माण भएपछि विद्यालय जान र आउन सहज भएको कण्ठेश्वर माध्यमिक विद्यालय कक्षा आठमा अध्ययरत छात्रा संगीता थापा मगरले बताइन । उनले भनिन्, ‘खोला तर्न नसक्दा कहिलेकाहीँ त विद्यालय नै जान पाइँदैन । अहिले पुल हालेको ठाउँबाट तरेर विद्यालय जान छोटो दूरी पर्छ । पुल नहुँदा निकै तल एक घण्टा पैदल हिँडेर तल पुगेपछि मात्रै अर्को पुल भेटिन्छ । साथी भए त ठिकै हो, कहिले त एक्लै परिन्छ । जंगलको बाटो एक्लै हिँड्न डर लाग्छ, एक्लै भएको वेला त पढाइ नै छुट्ने गर्थ्याे । अहिले त जे भए पनि काठको पुल छ, आउजाउ गर्न धेरै सहज भएको छ ।’
उक्त खोला तरेर मगरगाउँ, निगुरेबस्तीदेखि विभिन्न गाउँका विद्यार्थी, शिक्षक र सयौँ गाउँले दैनिक आवतजावत गर्ने गर्दछन् । पुल नहुँदा धेरै समस्या थियो । अहिले केही हदसम्म सहज भएको छ । वर्षात् समय भएकाले खोला ठुलो आएर पुल लैजान्छ कि भन्ने चिन्ताले सताउने गरेको स्थानीय गणेशबहादुर मगरले जानकारी दिए ।
उक्त स्थानमा पुलको आवश्यकता भए तापनि सडकमार्गको एक किलोमिटर टाढा मात्रै झोलुङ्गे पुल निर्माण गर्न मिल्ने भएकाले त्यहाँ पुल निर्माण गर्न नसकिएको दोरम्बा सैलुङ गाउँपालिका– ३ टोकरपुरका वडाध्यक्ष सन्तलाल थापा मगरले जानकारी दिए । उनले भने, ‘त्यहाँ निकै ठुलो खोला आउँछ, ठाउँ पनि फराकिलो भएकाले समस्या छ । हिउँदको समयमा सहज भए पनि वर्षातको समयमा स्थानीयहरूलाई समस्या हुने गरेको छ ।’