
धान रोपाइँका लागि खेतमा विद्युतीय मोटरमार्फत पानी पठाउन अभिभावकसँगै खेतमा गएका बालकको करेन्ट लागेर मृत्यु भएको छ। सिराहाको गोलबजार नगरपालिका– १२, बेतौनाका रामकरण महतोका छोरा करिब सात वर्षीय लवकुमार महतोको बुधबार दिउँसो करिब १२ बजेतिर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान थालिएको जानकारी दिँदै इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले खेतमा आफ्ना बाबुसँगै गएका बालकको खेल्ने क्रममा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए।
करेन्ट लागेर गम्भीर घाइते भएका बालक साहलाई तत्काल आफन्तले उद्धार गरी गोलबजारस्थित भूमिजा अस्पतालमा ल्याएपछि मात्र प्रहरीले थाहा पाएको उनले बताए। त्यसपछि तत्काल लहान प्रादेशिक अस्पताल रेफर गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
खेतीपातीको समयमा विद्युतीय मोटरमार्फत सिँचाइ गर्नेहरूको संख्या बढ्ने भए पनि विद्युत् उपभोग सुरक्षाबारे जानकारी कम हुँदा करेन्ट लागेर मृत्यु हुनेहरूको संख्या बढिरहेको छ। विद्युतीय मोटरको जडान, तारको अवस्था नहेरी प्रयोग गर्दा सावधानी नअपनाउँदा दुर्घटना बढिरहेकाले सुरक्षाका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने गोलबजार– १२ का वडाध्यक्ष गणेशकुमार मुखियाले बताए।