
वैकल्पिक मार्ग प्रयोग गर्न भनिए पनि दाउन्नेमा सवारीसाधनको लाइन कम हुन सकेन
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड राम्ररी चल्न नसकेको १० दिनभन्दा बढी भइसक्यो । दुम्किबासको विनयी खोला, दाउन्नेको खुर्सानी खोला र विश्वकर्मा बाबा मन्दिर गरी तीन ठाउँमा यात्रा गर्न कष्टकर छ । यात्रा सहज गराउन विनयी खोलाको पुल छिट्टै खोल्ने र दाउन्ने खण्डमा १० दिनमा पाँच सय टिपर गिट्टी बिछ्याउने भनिए पनि दुवै कामले पूर्णता पाउन सकेको छैन । ठेकेदार कम्पनी दुम्किबासको पुल तत्काल खोल्ने पक्षमा छैन । अविरल वर्षाले दाउन्नेको सडक दैनिकजसो हिलो र चिप्लोले गाडी गुड्न सक्ने अवस्था भएन । डाइभर्सन पटकपटक बगाएपछि दुम्किबास र दाउन्नेमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको हो ।
दाउन्ने र दुम्किबासमा सडक पूर्ण रूपमा बन्द हुँदा एक दिनमै तीन हजारभन्दा बढी सवारीसाधन रोकिए । यसबिचमा सडक आयोजनाले सूचना निकालेर वैकल्पिक मार्ग प्रयोग गर्न भने पनि बुटवल–नारायणगढ सडकखण्डमा सवारीसाधन आउने क्रम रोकिएन । सूचनापछि केही चाप घटे पनि बस, ट्रक, साना तथा हल्का सवारीसाधन चली नै रहे । सामान्य अवस्थामा छोटो दूरीका सवारीसाधनलाई नगन्दा पनि दैनिक पाँच हजार सवारीसाधन गुड्ने यो सडकमा अहिले दैनिक दुई–तीन सयको हाराहारीमा मात्र त्यो पनि यात्रुवाहक बस र हल्का सवारीसाधन मात्र चलेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जराले बताए । उनका अनुसार अहिले पनि नवलपुर खण्डमा हजारभन्दा धेरै ठूला तथा मालवाहक सवारीसाधन होल्डमा छन् ।
होल्डमा रहेका सवारीसाधनलाई दुई–तीन दिनमा एकपटक दुम्किबासको विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर पठाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेमा पछिल्लो दुई दिनयता घाम लागेका कारण यात्रा केही सहज भए पनि बसहरू फस्ने र निकाल्ने क्रम चलिरहेको बताए ।
दाउन्नेको पूर्वी खण्डमा नौ किलोमिटर सडकमा १० दिनभित्र पाँच सय टिप गिट्टी हालेर सडक सञ्चालन गर्ने आयोजनाले जनाए पनि त्यसअनुसार काम हुन नसकेको ट्राफिक प्रहरी निरीक्षक बन्जाराले बताए । दाउन्ने खण्डमा काम भइरहे पनि खासै उपलब्धिमूलक हुन नसकेको उनको भनाइ छ । पूर्वबाट आउने मालवाहक सवारीसाधनलाई नारायणगढबाट पोखरा, स्याङ्जा हुँदै बुटवलको बाटो र बुटवलबाट आउने मालवाहक सवारीसाधनलाई पाल्पा, पोखरा, मुग्लिन हुँदै पठाइने गरेकाले अहिले नारायणगढ–बुटवल सडकमा सवारीसाधनको चाप निक्कै काम छ । तथापि, दाउन्नेमा जाम हुने क्रम भने अझै नरोकिएको बन्जाराले बताए ।
गैँडाकोट, कावासोती, अरुणखोला, बर्दघाट, दुम्किबासलगायत क्षेत्रमा होल्डमा रहेको सवारीसाधनलाई अस्थायी डाइभर्सन बनाएर पास गराउने प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
दुम्किबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको २० दिन पुगेको छ । तैपनि पुल तत्काल खोल्ने पक्षमा ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन । १४ असारमा सञ्चालनमा ल्याइने भनेको पुल ढिलोमा २० असारसम्म सञ्चालनमा ल्याउने पक्षमा ठेकेदार पक्ष देखिएको छ । चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले दुम्किबासको विनयी खोलाको पुल सञ्चालनमा ल्याउन अझै कम्तीमा १० दिन लाग्न सक्ने बताए । ‘पुल निर्माण सम्पन्न भएको ४५ दिनपछि मात्रै सञ्चालनमा ल्याउनुपर्ने हो, तर यात्रुहरूको समस्यालाई ध्यानमा राखेर २१ असारतिर सञ्चालनमा आउन सक्छ,’ उनले भने ।