
सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भागेका थुनुवा रमानन्द मण्डल डेढ महिनापछि पक्राउ परेका छन्। चोरी मुद्दामा थुनामा परेका शम्भुनाथ नगरपालिका– ११ का ३५ वर्षीय मण्डल वैशाख १५ गते राति कारागारबाट फरार भएका थिए।
उनी ०८१ पुस ६ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए। प्रहरीको खोजी जारी रहँदा उनलाई बुधबार आफ्नै गाउँआसपासको क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उच्च सुरक्षा सतर्कता र चारैतिर अग्लो पर्खालले घेरिएको कारागारबाट मण्डल कसरी भाग्न सफल भए भन्नेबारे अझै यकिन हुन सकेको छैन। प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ। फरार मण्डलमाथि कारागार ऐन, २०७९ अनुसार थप कारबाहीका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।