
इजरायल–इरानबिच भएको युद्धविराम सहमतिको मध्यस्थता गरेका र त्यसको श्रेयसमेत लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यतिवेला आक्रोशित भए, जब सम्झौता केही घण्टामै उल्लंघन भयो । उनले इजरायललाई आफ्ना युद्धकविमान बिचबाटै फर्काउन र इरानमाथिको बमबारी रद्द गर्न आदेश दिए । त्यसो नगरे इजरायलतर्फबाट ‘ठुलो उल्लंघन’ भएको मानिने उनले चेतावनी दिए । उता इजरायलले भने युद्धविरामको घोषणा भएको लगभग साढे दुई घण्टापछि पनि उत्तरी इजरायलतर्फ इरानी ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको भन्दै युद्धविराम तोड्ने पहिलो राष्ट्र आफू नभएको दाबी गर्यो ।
यद्यपि, युद्धविरामको घोषणा भएको लगभग साढे दुई घण्टापछि वासिंगटनमा ब्युँझिँदा ट्रम्पको रिसको मुख्य निसाना इजरायल देखियो । ट्रम्प इजरायलले इरानमाथि गर्न थालेको ठुलोस्तरको बमबारीबाट मात्र क्रुद्ध थिएनन् । सोमबार राति युद्धविराममा सहमति जनाएपछि र मंगलबार बिहान ५ बजे कार्यान्वयन हुँदाको बिचमा इजरायली विमानहरूले खसालेका बमहरूको विशाल परिणामबाट पनि रिसाएका थिए ।
‘सम्झौता गर्नेबित्तिकै इजरायलले ठुलो परिणाममा बम खसाल्यो । यत्रो परिणाम मैले पहिले कहिल्यै देखेको थिइनँ । हामीले देखेको सबैभन्दा ठुलो परिणामको बम,’ ट्रम्पले अमेरिकी राष्ट्रपतिले इजरायलविरुद्ध सार्वजनिक रूपमा विरलै प्रयोग गर्ने निन्दाको भाषामा भने । त्यसपछि उनले आफ्नो निजी अनलाइन प्लेटफर्म ट्रुथ सोसलमा निर्देशनको भाकामा लेखे, ‘इजरायल ! ती बमहरू नहान । यदि त्यसो गरिए यो ठूलो उल्लंघन हुनेछ । अब आफ्ना पाइलटहरूलाई घर फर्काऊ !’
त्यसपछि ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच फोन वार्ता भयो । फोन वार्तापछि सोही प्लाटफर्ममा पुनः ट्रम्पले घोषणा गरे, ‘इजरायलले इरानमाथि आक्रमण गर्नेछैन । (इरानतर्फ गएका) सबै विमान फर्किनेछन् । युद्धविराम लागू भएको छ !’ तर, ट्रम्पको सो पोस्टको केही मिनेटपछि इरानको राजधानी र देशको उत्तरी भागमा विस्फोट सुनिएको थियो । अमेरिकी वेबसाइट ‘एक्सियोस’का अनुसार नेतान्याहुले ट्रम्पसँगका फोनवार्तामा ठुलो स्तरको हमला रोकिए पनि ‘एउटा मात्र लक्ष्यमा भए पनि प्रहार हुने’ बताएका थिए । इजरायली मिडिया हारेट्जका अनुसार सो एकल लक्ष्य इरानी राडार थियो ।