१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १८:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उदयपुरको बोप्ताङ प्याराग्लाइडिङ सिक्ने हब बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १८:३७:oo

उदयपुरको बेलका नगरपालिका–८ बोप्ताङडाँडा प्याराग्लाइडिङ सिक्ने केन्द्र बन्दै गएको छ। बोप्ताङमा फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्राइभेट लिमिटेड कम्पनीले प्याराग्लाइडिङको प्रशिक्षण दिनथालेपछि प्याराग्लाइडिङ सिक्ने केन्द्र बन्दै गएको हो।

प्याराग्लाइडिङ उडानको लागि आवश्यक पर्ने सिप सिकाउने (आधारभूत प्याराग्लाइडिङ पाइलट)स्कुल स्थापना भएसँगै बोप्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्न थालेको छ। साहसिक खेल पर्यटनको रूपमा लिइने मनोरञ्जनात्मक हवाई उडान अर्थात् प्याराग्लाइडिङ सिक्न नयाँ पुस्ता अग्रसर हुन थालेका छन् । फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुलका सञ्चालक तथा प्रशिक्षक सुरेन गुरुङले बोप्ताङमा विदेशीहरू पनि प्याराग्लाइडिङ सिक्न आउन थालेको बताए। उनले भने, ‘नेपालबाट मात्र होइन, भारत, चीन, युरोपमा पर्ने देश स्पेन, फ्रन्स, जर्मन, पोल्यान्ड, पोर्चुगललगायतका देशबाट सिकेर जानेहरू छन्।’ उनले हालसम्म ६० जना विदेशी नागरिकले बोप्ताङमा प्याराग्लाईडिङ सिकेर गएको बताउँदै हालसम्म तीन वर्षअघि स्थापना भएको फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुलमा हालसम्म एक सय ५० जनाभन्दा बढीले सिकेको बताए ।

उनले थप्दै भने, ‘एकपटकमा पाँचजनाको कोटा हुन्छ। त्यसमा १५ दिनको आधारभूत प्याराग्लाइडिङ उडानसम्बन्धी प्रशिक्षण दिन्छौँ।’ उनका अनुसार स्कुलमा नेपाली नागरिकलाई खान, बस्न, बिमा, उपकरण (प्याराग्लाइडिङको लागि आवश्यक पर्ने समान) सहितको एक लाख ८० हजार रुपैयाँ पर्दछ भने विदेशी नागरिकलाई १५ सय डलर शुल्कमा सिकाइन्छ। उनले अनुभव सुनाउँदै भने, ‘अहिले पछिल्लो समय उदयपुरका युवायुवतीमा पनि प्याराग्लाइडिङ सिक्ने रुचि बढेको देखिन्छ। स्कुलमा भर्ना हुन पालो पर्खेर बस्नुभएको छ ।’

उदयपुरमा प्याराग्लाइडिङको सम्भावना उच्च भए पनि पूर्वाधार (टेकअफ र ल्यान्डिङ), सरकारी नीति स्प्रष्ट नहुनु मुख्य समस्या भएको प्याराग्लाइडिङका स्लोपाइट जितेन्द्र रोइला बताउँछन् । उनी भन्छन्, ‘उदयपुर प्राकृतिक सौन्दर्य, पहाडी भूगोल र मौसमको अनुकूलताका बाबजुद प्याराग्लाइडिङ राम्रो सम्भावना छ।’ महाभारतबाट भित्री मधेशमा पर्ने चुरेका फाँट प्याराग्लाइडिङका लागि उपयुक्त टेक अफ ल्यान्डिङ (उड्न थाल्ने र अवतरण स्थल) को राम्रो सम्भावना जिल्ला हो । तर, वन क्षेत्र, निजी जग्गा पर्ने भएकाले समस्या छ। स्थानीय सरकारहरूले साहसिक पर्यटनलाई प्राथमिकतामा राखे पर्यटनको विकासमा टेवा पुग्ने बताइन्छ।