
गएराति परेको अविरल वर्षाका कारण दोरम्बा शैलुङ गाउँपालिका– ३, टोकरपुरस्थित चिहान खोलानजिकै पहिरो जाँदा एक घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने चार घर उच्च जोखिममा रहेका छन्। पहिरोले स्थानीय झगरसिंह बसेलको ढुंगामाटोले बनेको कच्ची घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने चेली बसेलको चौपाया बाँध्ने गोठ पहिरोले पुरिँदा एक गाई र बाछो मरेका छन्।
उक्त स्थानमा १२ घरधुरीको बसाबास छ । जसमध्ये हरिकृष्ण बसेल, बुद्धिमान बसेल र चिना बसेलको घर उच्च जोखिममा रहेकाले तत्काल अन्यत्र सार्नुपर्ने अवस्था रहेको दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरका वडाध्यक्ष सन्तलाल थापामगरले जानकारी दिए।
खोलानजिकै रहेको बस्तीको घरमाथिबाट पहिरो झरेपछि तत्काल गाउँपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय टोकरपुरबाट प्रहरीसहितको टोली उद्धारका लागि सोमबार बिहानै घटनास्थल पुगेको छ। पहिरोको उच्च जोखिममा रहेका घरका सदस्यलाई सुरक्षित स्थानमा सार्ने विषयमा अहिले गाउँपालिकाको विपत् व्यवस्थापन समितिको बैठक डाकिएको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले जानकारी दिइन्।
गत वर्षको भदौमा पनि अत्यधिक मात्रामा वर्षा हुँदा सोही वडाको लेखर्कमा पहिरोमा परी १० जनाको ज्यान गएको थियो भने ठुलो बस्ती नै पहिरोको उच्च जोखिममा परेको थियो।