१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
२o८२ असार ८ आइतबार १o:४९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एउटै पालिकाबाट तीन करोडभन्दा बढीका खसी बिक्री

गाउँपालिकामा सूचीकृत चार सहकारीबाट चार सय ३४ किसानले बेचे एक हजार पाँच सय ८८ खसी–बोका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १o:४९:oo

सल्यानको त्रिवेणी गाउँपालिकाले एक वर्षमा तीन करोडभन्दा बढीका खसी–बोका बिक्री गरेको छ । चालू आर्थिक वर्ष ०८१/८२ को असार पहिलो हप्तासम्म तीन करोड २६ लाख ४३ हजारबराबरको खसी–बोका अन्य जिल्लामा बिक्री गरिएको हो । गत आर्थिक वर्षको तुनलामा चालू आवमा एक करोडभन्दा बढीका खसी–बोका बिक्री भएको त्रिवेणी गाउँपालिका पशुसेवा शाखा प्रमुख वसन्त रावतले बताए । रावतका अनुसार गत आवमा दुई करोड २६ लाखबराबरको निर्यात भएको थियो । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम प्रभावकारी बन्दै जाँदा कृषकमा बाख्रापालनमा आकर्षण बढेको उनको भनाइ छ । 

गाउँपालिकामा सूचीकृत चार सहकारी संस्थाबाट चार सय ३४ कृषकले एक हजार पाँच सय ८८ खसी–बोका एक वर्षमा बिक्री गरिएको रावतले जानकारी दिए । उनका अनुसार नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन सय ६१ खसी–बोकाबाट ७० लाख ४२ हजार र उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट तीन सय १८ खसी बिक्री गर्दा ७१ लाख ५२ हजारभन्दा बढी आम्दानी गरेका छन् । त्यस्तै, दुर्गा भवानी सामाजिक उद्यमी महिला सरकारी संस्थामार्फत सात सय २२ खसी बिक्रीबाट एक करोड ४६ लाख र त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्थामार्फत एक सय ८७ खसी बिक्री हुँदा ३८ लाख ३२ हजार  रुपैयाँ किसानले आम्दानी गरे । जसबाट किसानले उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत १० लाख ८० हजार नौ सय २० रुपैयाँ अनुदान पाएका छन् । 

गाउँपालिकाले सहकारीमार्फत वार्षिक एक सय किलोभन्दा माथिका जिउँदो खसी–बोका बिक्री गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँका दरले अनुदान दिँदै आइरहेको रावतले बताए । ‘कृषकले सहकारीमार्फत खसी बिक्री गर्छन् । उनीहरूले वर्षमा एक सय किलोभन्दा बढीका खसी–बोका बिक्री गरेमा पालिकाले प्रतिकिलो २० रुपैयाँ अनुदान दिन्छ,’ उनले भने । 

त्यस्तै, गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले उत्पादनमा वृद्धि गर्न कृषकको उत्पादनकै आधारमा अनुदान दिने गरिएको बताए । ‘पशुपालनको क्षेत्रमा यो नौलो कार्य हो, जसले उत्पादन गरेर सहकारीमार्फत खसी–बोका बिक्री गर्छ, उसले अनुदान पाउने हो,’ उनले भने । अध्यक्ष रावतका अनुसार गाउँपालिकाले पशुपालनमा कृषकलाई आकर्षित गर्न र नश्ल सुधार गर्न उन्नत जातका बाख्रा तथा बोका वितरण गर्दै आएको छ । ‘हामी पशुपालन व्यवसाय गर्ने कृषकलाई आवश्यक तालिम तथा प्राविधिक ज्ञान दिन्छौँ, आहारा वृद्धिका लागि घाँसखेती विस्तार, पशु उपचार तथा परामर्शलगायतका सेवा दिँदै आएका छौँ,’ उनले भने । गाउँपालिकाको वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्र तथा वडा नम्बर १, ३ र ६ लाई भैँसी पकेट क्षेत्रका रूपमा विकास गरिएको अध्यक्ष रावतले बताए । 

व्यावसायिक बाख्रापालनका लागि कृषकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । उत्पादित खसी–बोका काठमाडौं, पोखरा, दाङलगायतका प्रमुख सहरमा बढी माग हुन्छ । जंगलमा घाँस सँगसँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानका खसी–बोका अन्य जिल्लाको तुलनामा बढी मूल्यमा बिक्री हुने गरेको छ । 

छुटाउनुभयो की ?