
उदयपुरमा दुईजना निर्वाचित जनप्रतिनिधिको निधन भएको छ । रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष ६१ वर्षीय होमबहादुर दाहाल र ताप्ली गाउँपालिका– ३ का वडासदस्य तथा गाउँसभा सदस्य ३७ वर्षीय छविलाल जर्घा मगरको शनिबार निधन भएको हो ।
जनप्रतिनिधिको निधन भएपछि दुवै पालिकाले आज आइतबार सार्वजनिक बिदा दिएका छन् । रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष दाहालको मुटुरोगका कारण उपचारको क्रममा निधन भएको हो । वडाध्यक्षको निधनमा शोक मनाउन आइतबार पालिकामा सार्वजनिक बिदा दिइएको पालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले जानकारी दिए । ‘रौतामाई गाउँपालिकाका लागि अपूरणीय क्षति भएको छ । आज शोक बिदा दिएका छौँ,’ उनले भने।
निधन भएका दाहाल नेकपा एमालेबाट स्थानीय तहको निर्वाचन ०७९ मा निर्वाचित वडाध्यक्ष हुन् । एमाले उदयपुरका उपसचिव हेम खड्काका अनुसार स्वर्गीय दाहाल ०५४ सालमा भुटार गाउँ विकास समितिमा एमालेबाटै निर्वाचित गाविस अध्यक्षसमेत हुन् । स्वर्गीय दाहाल एमाले कोशी प्रदेश कमिटी पूर्वसदस्य र हाल कोशी प्रदेश विभागका सदस्य हुन् ।
०७४ सालमा स्थानीय तहको निर्वाचनमा एमालेबाट रौतामाई गाउँपालिकाको लागि पालिका अध्यक्षको दाबेदारर थिए । तर, उम्मेदवार बन्न पाएनन् । त्यसपछि ०७४ कै आमनिर्वाचनमा एमालेबाटै रौतामाई, लिम्चुङबुङ अनि उदयपुरगढी गाउँपालिका प्रदेशबाट प्रदेश सभा सदस्यको उम्मेदवारका पहिलो आकांक्षीसमेत रहेका एमाले उदयपुरका प्रभावशाली नेता थिए । स्वर्गीय दाहाल ०७९ मा वडाध्यक्षमा निर्वाचित थिए ।
एमाले उदयपुरका उपसचिव खड्का भन्छन्, ‘होमबहादुर दाहालको निधनले एमाले उदयपुरलाई अपूरणीय क्षति पुगेको छ ।’ भुटार स्थायी बसोबास भएका दाहालका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।
यता, ताप्ली गाउँसभा सदस्य छविलाल जर्घा मगरको घरमै निधन भएको छ । उनी कांग्रेसबाट निर्वाचित वडासदस्य रहेको ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराव विश्वकर्माले जानकारी दिए । उनले भने, ‘आज ताप्ली गाउँपालिकामा पनि सार्वजनिक बिदा दिइएको छ ।’