१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३ मंगलबार o५:५६:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : विवेकानन्दको वाक्कला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार o५:५६:oo

सन् १८९३ मा अमेरिकाको सिकागोमा विश्व धर्म सम्मेलन हुँदै थियो । सम्मेलनमा संसारका धेरै देशबाट विभिन्न धर्मका प्रतिनिधि सहभागी भएका थिए । सम्मेलनका सहभागी सबै आआफ्नो धर्मका दिग्गज ज्ञाता थिए । उनीहरू सबै आआफ्नो धर्मलाई महान् र श्रेष्ठ साबित गर्न कम्मर कसेर लागिपरेका थिए ।

सहभागीहरूको समूहमा भारतबाट हिन्दु धर्मको प्रतिनिधित्व गर्दै सिकागो पुगेका स्वामी विवेकानन्द पनि थिए । सम्मेलनका विभिन्न सत्र चलिरहेका थिए । एक दिन सहभागीमध्ये कसैले विभिन्न धर्मका धार्मिक पुस्तकलाई चाङ लगाएर टेबलमाथि राखेका थिए । उनले चाङको सबैभन्दा तल हिन्दुहरूको पवित्र ग्रन्थ भागवत् गीतालाई राखेका थिए भने सबैभन्दा माथि चाहिँ पवित्र बाइबललाई राखेका थिए । उनले हिन्दु धर्मलाई होच्याउन जानाजान यसो गरेका थिए ।

यसै क्रममा आफ्नो विचार राख्न स्वामी विवेकानन्द मञ्चतिर अघि बढे । केही दिनदेखि उनको तार्किक वाक्कलाबाट त्यहाँ उनका समर्थक बढिरहेका थिए । धेरैले उनीमाथि चासो राख्न थालेका थिए । त्यतिखेर पनि विवेकानन्द मञ्चतिर बढ्दै गर्दा सबैको ध्यान उनीमाथि नै केन्द्रित थियो । उनी मञ्चको नजिकै धार्मिक पुस्तक चाङ लगाएर राखिएको टेबलछेउ पुगे । उनले चाङको पुछारमा राखिएको भागवत् गीतालाई यसो मायाले सुम्सुम्याए र फुत्त चाङबाट बाहिर थुते । उनले गीतालाई थुत्दा माथि राखिएका सबै पुस्तक चाङबाट यताउता छरिए । उनले छरिएका पुस्तकलाई सम्मानसाथ टिपेर टेबलमै राखे र गीता हातमा लिएर मञ्चमा पुगे ।

मञ्चमा पुगेपछि उनी मुसुक्क मुस्कुराए र आफ्नो सम्बोधन सुरु गरे । औपचारिक सम्बोधनपछि उनले भने– मैले भागवत् गीता निकाल्दा यहाँहरूका धार्मिक पुस्तक भुइँमा खसेकामा क्षमा चाहन्छु । जसले यहाँ यी किताब चाङ लगाएर राख्नुभयो, उहाँलाई म हार्दिक धन्यवाद दिन्छु । जसरी अहिले भागवत् गीतालाई चाङबाट हटाउँदा तपाईंहरूका धार्मिक पुस्तक यताउता छरिए, ठिक त्यसैगरी हिन्दु धर्म नहुने हो भने तपाईंहरूका धर्म पनि यसैगरी छरिनेछन् । किनकि, हिन्दु धर्म सबै धर्मको आधार हो । उनको यस भनाइपछि हलमा केहीबेर सन्नाटा छायो । र, अन्त्यमा सबैले परर्र ताली बजाए ।