
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयता इजरायल र इरानबिच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन्।
आज परराष्ट्र मन्त्रालयमा मन्त्री डा. राणालाई राजदूत बासले इजरायल र इरानबिचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्।
त्यस अवसरमा परराष्ट्रमन्त्री डा. राणाले त्यहाँ रहेका नेपालीलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन्। राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेकाे जानकारी दिए।
आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपाली सुरक्षित रहेको जानकारी गराएको थियो। पछिल्ला केही दिन इरान र इजरायलबिच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा. राणाले तेलअभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन्।
मन्त्रालयले दुई देशबिचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो।