
सूर्य नेपाल गल्फ टुर २०२४/२५ को अन्तिम तथा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदै छ । ५ असारसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुनेछ । कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडी र एमेच्योर खेलाडीले अन्तिम दुई राउन्डका लागि स्थान बनाउने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।
चारदिने प्रतियोगितामा ३८ जना प्रोफेसनल गल्फरले सर्वाधिक १६ लाख पुरस्कार राशिको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । प्रतियोगितामा १५ जना उत्कृष्ट एमेच्योर खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । विजेताले उपाधिसहित तीन लाख र उपविजेताले एक लाख ८५ हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले एक लाख २५ हजार र चौथोले एक लाख पाँच हजार रुपैयाँ हात पार्नेछन् । पाँचौँ हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् ।
शीर्ष २१ भित्र रहने सबै खेलाडी पुरस्कारको हकदार बन्नेछन् । सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर सात लाख ४२ हजार पाँच सय पुरस्कार पाएका नीरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटकप शीर्ष स्थानमा छन् । तोरण शाही (चार लाख नौ हजार पाँच सय) दोस्रो र भुवन नगरकोटी (तीन लाख ६४ हजार पाँच सय) तेस्रो स्थानमा छन् । भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्रबहादुर राई र सुवास तामाङले यसपटक उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।