
पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मेची राजमार्गमा पर्ने हिलिहाङ र पाँचथर नगरपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण गर्ने क्रममा शनिबार साँझ खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएको जानकारी दिए । दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको डिएसपी बुढाथोकीले बताए ।
शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका– ४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका–७ मा जग टेकाएको केहीबेरमै बेलिब्रिज खसेको हो । बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए । घाइतेमध्ये एकको अवस्था गम्भीर र दुईजना सामान्य छन् । सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पुर्याइएको छ । घटनामा सिमरा उपमहानगरपालिका– १२ का २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते छन् ।